२०८३ असोज २५ गते आइतबार

युरो २०२४ काे विजेता स्पेन कि इंग्ल्याण्ड ?

युरो २०२४ काे विजेता स्पेन कि इंग्ल्याण्ड ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ३० गते आइतबार ११:२८

स्पेनले जर्मनीसँगै अहिलेसम्म सर्वाधिक ३ पटक उपाधि जितेको छ र चौथो पटक जित्ने लक्ष्यमा छ । यदि स्पेन विजयी भएमा युरो चार पटक जित्ने पहिलो टोली बन्नेछ र सर्वाधिक सफल टोली बन्नेछ ।

स्पेन र इंग्ल्याण्ड दुवै टाेलीलाई इतिहास रच्ने अवसर

काठमाडौं ।

युरो २०२४ को फाइनलका लागि २४ टोलीले सुरु गरेको यात्रा स्पेन र इंग्ल्याण्डसम्म आइपुगेकाे छ ।  उपाधि होडमा रहेका यी दुई टाेलीकाे  महाभिडन्त आज मध्यराति १२:४५ बजे बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

यी दुई मध्ये एक टाेलीले जर्मनीको बर्लिनमा युरो २०२४ को ट्रफी उचाल्ने छन् ।

स्पेनले सेमिफाइनलमा ट्रफीकाे दावेदारका रूपम हेरिएकाे फ्रान्स र इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई पराजित गरेर याे महाभिडन्त पक्का गरेका हुन् ।

स्पेनले यस युरोमा उत्कृष्ट लय कायम राख्दै फाइनलसम्मको यात्रा तय गर्दा सबै खेल जितेको छ । उता इंग्ल्याण्ड भने अन्तिम समयमा नतिजा उल्टाउँदै संघर्ष गरेर फाइनलसम्म पुगेको हो ।

यी दुई टोली मध्ये फाइनल जसले जिते पनि इतिहास रच्ने छ ।

स्पेनले जर्मनीसँगै अहिलेसम्म सर्वाधिक ३ पटक उपाधि जितेको छ र चौथो पटक जित्ने लक्ष्यमा छ । यदि स्पेन विजयी भएमा युरो चार पटक जित्ने पहिलो टोली बन्नेछ र सर्वाधिक सफल टोली बन्नेछ ।

स्पेनले सन् १९६४ को दोस्रो संस्करणमै उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार उपाधि जितेको थियो । युरो लगातार जित्दा स्पेनले सन् २०१० मा फिफा विश्वकप समेत जितेको थियो ।

इंग्ल्याण्डले भने अहिलेसम्म युरो उपाधि जित्न सकेको छैन । पछिल्लो पटक सन् २०२० को युरोमा फाइनल पुगे पनि इंग्ल्याण्ड घरेलु मैदान वेम्बलीमा इटलीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

इंग्ल्याण्ड लगातार दोस्रो पटक युरो फाइनल खेल्दैछ । इंग्ल्याण्ड विजयी भएमा पहिलो पटक युरो च्याम्पियन बन्नेछ । त्यसका लागि इंग्ल्याण्डले घर बाहिर उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई हराउनुपर्नेछ ।

इंग्ल्याण्डले अहिलेसम्म जितेको एक मात्र ठूलो उपाधि सन् १९६६ को फिफा विश्वकप हो र त्यो पनि घरेलु मैदानमा जितेको थियो ।

स्पेन र इंग्ल्याण्ड एकआपसमा भिड्दा केही खेलाडीमाथि नजर रहनेछ । जो व्यक्तिगत अवार्डको होडमा पनि छन् । इंग्ल्याण्डका कप्तान ह्यारी केन र स्पेनका डाद्दी ओल्मो सर्वाधिक गोलकर्ता बन्ने होडमा छन् । दुवैले समान ३ गोल गरेका छन् । फाइनलमा गोल गर्ने खेलाडी सर्वाधिक गोलकर्ताको दाबेदार बन्नेछ ।

यस्तै उत्कृष्ट खेलाडी बन्ने दौडमा स्पेनका रोड्रि र इंग्ल्याण्डका जुड बेलिङघम छन् ।

तर फाइनलमा नजर भने एक दिनअघि मात्रै १७ औं जन्मदिन मनाएका लामिन यामलमाथि हुनेछ । यी टिनएज स्टारले युरोमा गज्जबको प्रदर्शन गर्दै सबैलाई छायामा मात्र पारेनन् स्पेनलाई फाइनल पुर्‍याउन पनि उत्कृष्ट योगदान गरिरहेका छन् । सेमिफाइनलमा फ्रान्स विरुद्ध एक गोलले पछि पर्दा उनै यामलले सानदार गोल गर्दै खेल बराबरी गरेका थिए ।

उनले युरोमा विभिन्न कीर्तिमान समेत बनाइसकेका छन् । युरो खेल्ने युरोमा गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका यामल अब अरु कीर्तिमानको बाटोमा छन् । उनले फाइनलमा गोल गरेमा युरो फाइनलमा गोल गर्ने कान्छो खेलाडी पनि बन्नेछन् ।

स्पेन र इंग्ल्याण्डको फाइनल यात्रा

स्पेन

  • समूह बी को विजेता

  • क्रोएसिया विरुद्ध ३-० ले विजयी

  • इटली विरुद्ध १-० ले विजयी

  • अल्वानिया विरुद्ध १-० ले विजयी

  • अन्तिम १६ मा जर्जिया विरुद्ध ४-१ ले विजयी

  • क्वाटरफाइनलमा जर्मनी विरुद्ध २-१ ले विजयी

  • सेमिफाइनलमा फ्रान्सविरुद्ध २-१ ले विजयी

  • हेर्नलायक खेलाडी : लामिन यामल

  • सर्वाधिक गोलकर्ता : डानी ओल्मो ३ गोल

  • उत्कृष्ट नतिजा : १९६४, २००८ र २०१२ मा विजेता

  • २०२० को नतिजा : सेमिफाइनलमा इटलीसँग पेनाल्टीसुटआउटमा ४-२ ले पराजित

इंग्ल्याण्ड

  • समूह सी को विजेता

  • सर्विया विरुद्ध १-० ले विजयी

  • डेनमार्क विरुद्ध १-१ को बराबरी

  • स्लोभाकिया विरुद्ध गोलरहित बराबरी

  • प्रिक्वाटरफाइनलमा स्लोभेनिया विरुद्ध २-१ ले विजयी

  • क्वाटरफाइनल स्वीट्जरल्याण्ड विरुद्ध पेनाल्टीसुटआउटमा ५-३ ले विजयी

  • सेमिफाइनलमा नेदरल्याण्ड्सविरुद्ध २-१ ले विजयी

  • हेर्न लायक खेलाडी : कोल पाल्मर

  • सर्वाधिक गोलकर्ता : ह्यारी केन ३ गोल

  • उत्कृष्ट नतिजा उपविजेता : २०२०

  • युरो २०२० नतिजा : फाइनलमा पेनाल्टीसुटआउटमा इटलीसँग ३-२ ले पराजित 

अहिलेसम्म भएका १६ संस्करणमध्ये जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक उपाधि जितेका छन् । यस्तै अहिलेसम्म चार राष्ट्रले मात्र एक भन्दा बढी पटक युरो जितेका छन् भने कूल १० राष्ट्रले युरो जितेका छन् । जसमा जर्मनी (पश्चिम जर्मनीहसित) र स्पेनले सर्वाधिक तीन/तीन पटक तथा फ्रान्स र इटलीले दुई/दुई पटक उपाधि जितेका छन् ।

यस्तै सोभियत युनियन, चेक रिपब्लिक, नेदरल्याण्ड्स, डेनमार्क, ग्रीस र पोर्चुगलले समान एक पटक युरो ट्रफी उचालेका छन् ।

यी हुन् अहिलेसम्मको १६ संस्करणका युरो विजेता

१९६० : सोभियत संघ

१९६४ : स्पेन

१९६८ : इटली

१९७२ : पश्चिम जर्मनी

१९७६ : चेकोस्लोभाकिया

१९८० : पश्चिम जर्मनी

१९८४ : फ्रान्स

१९८८ : नेदरल्याण्ड्स

१९९२ : डेनमार्क

१९९६ : जर्मनी

२००० : फ्रान्स

२००४ : ग्रीस

२००८ : स्पेन

२०१२ : स्पेन

२०१६ : पोर्चुगल

२०२० : इटली

प्रकाशित मिति २०८१ असार ३० गते आइतबार ११:२८
हजुरको प्रतिक्रिया