पोखरा
कास्की २ बाट निर्वाचित भएकी विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएकै दिन सोमबार २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । ओली नेतृत्वको मन्त्रिपरिषद्मा कास्कीकी भट्टराई शिक्षा मन्त्री बनेकी हुन् ।
राजनीति छाडेर प्राध्यापनमा लागेकी उनी श्रीमान रविन्द्र अधिकारीको ताप्लेजुङे हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै राजनीतिमा फर्किएकी थिइन् ।
२०३० सालमा सिन्धुपाल्चोकमा जन्मिएकी विद्याको परिवार नै राजनीतिमा थियो । राष्ट्रिय पञ्चायतका सदस्यसमेत रहेको सिन्धुपाल्चोकको सिन्धु गाउँका प्रधानपञ्च हेमराज र भगवती भट्टराईकी छोरी हुन् उनी । विद्याको परिवारमा राजनीतिक माहोल नहुने कुरै भएन ।
कक्षा ७ मा पढ्ने बेलामै राजनीतिमा होमिएकी विद्या अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट खारिएर अनेमसंघको नेत्री भइन् ।
२०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेदवारीमा सम्हालिन । उनी सचिव हुँदा रवीन्द्र अधिकारी अनेरास्ववियुको महासचिव थिए । संगठनको जिम्मेवारीमा रहेका विद्या र रवीन्द्रबीच प्रेमको चर्चा हुन्थ्यो ।
२०५६ असारमा विद्या र रवीन्द्रले लगनगाँठोे कसे ।दाम्पत्य जीवनमा बाँधिएकी विद्या विस्तारै राजनीतिक फ्रन्टलाइनबाट अलग्गिइन् ।
२०५६ मा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र कार्यालय सचिव, बुद्धिजीवी परिषद सदस्य हुँदै विद्या प्राध्यापक क्षेत्रतर्फ लागिन् ।
रवीन्द्रको राजनीतिलाई उभार ल्याउन मेरुदण्ड बनेकी भट्टराई गुमनाम भएर घरगृहस्थीमा व्यस्त भइन् । राजनीतिलाई चटक्कै बिर्सेर विद्याले प्राध्यापनलाई रोजिन् ।
२०५८ देखि प्राध्यापन पेशा सुरु गरेकी विद्याले ८ वर्ष सामुदायिक क्याम्पसमा पढाइन् । समाजशास्त्रमा एमए र मानवशास्त्रमा एमफिल सकाएकी विद्या २०७२ सालदेखि रत्नराज्य क्याम्पसमा स्थायी उपप्राध्यापकको जागिरे थिइन् ।
अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट खारिएका रवीन्द्र भने नेपाली राजनीतिमा स्थापित भए । उनले २०६४, २०७० र २०७४ सालमा भएको निर्वाचनमा कास्की २ बाट निर्वाचित भएर ह्याट्रिकको रेकर्ड बनाए । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भएको बखत २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर अधिकारी अस्ताए ।
अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की–२ मा उपनिर्वाचन भयो । २०७६ मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा पार्टीले विद्यालाई टिकट दियो । जबकी विद्याले सक्रिय राजनीतिमा फर्किनेबारे सोचेकै थिइनन् ।
सहधर्मीलाई गुमाएको पीडामै रहेकी विद्याले स्थायी जागिर थालेको ४ वर्षमै प्राध्यापनबाट राजीनामा दिएर निर्वाचन लडिन् । उनको पक्षमा आएको निर्वाचनको परिणामले जीवनमा नयाँ मोड लियो । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४०३ मतान्तर पराजित गर्दै विद्याले संसदमा डेब्यु गरिन् ।
सक्रिय राजनीतिबाट अलग्गिएको दुई दशकपछि नचाहेरैै राजनीतिमा फर्किएकी भट्टराई २०७९ मंसिर ४ गते भएको आम निर्वाचनमा पनि कास्की–२ बाट विद्या भट्टराई फेरि निर्वाचित भइन् ।
घटनाक्रमले संसद छिरेकी विद्या संसद नबनेर अध्धयन अनुसन्धानको क्षेत्रमा लाग्न चाहान्थिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले कर गरेर टिकट थमाएपछि चुनाव लडेकी भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तर पराजित गरिन् । भट्टराईले १६ हजार ९९८ मत ल्याएर दोस्रो पटक निर्वाचित भइन् ।
२०७९ असारमा प्रतिनिधि सभाको उपसभामुखमा विद्यालाई एमालेले उम्मेदवार बनाएको थियो । कांग्रेसकी पुष्प भुसाल १४८ मतसहित विजयी हुँदा तत्कालिन प्रमुख प्रतिपक्षी दल एमालेकी उम्मेदवार भट्टराईले ९३ मत पाएर पराजित भएकी थिइन् ।
यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएर बनेको सरकारमा पनि मन्त्री बन्ने विद्याको चर्चा थियो । यो पटक ओलीको क्याबिनेटमा अटाएकी विद्या प्रध्यापनबाट राजनीतिमा फर्किएकाले शिक्षा क्षेत्र सुधारको अपेक्षा गरिएको छ । उसो त यसअघिकी शिक्षामन्त्री सुमना क्षेष्ठले पनि शिक्षा सुधारमा थुप्रै प्रयास गरेकाले देखिने गरेर काम गर्नुपर्ने नैतिक दबाब विद्यालाई हुनेछ ।
प्रकाशित मिति २०८१ असार ३१ गते सोमबार ०३:४२




