२०८३ असोज २५ गते आइतबार

८ महिनापछि सुकु विकको हत्यारा पक्राउ, आइफोनले खुलायो हत्याराको ‘क्लु’

८ महिनापछि सुकु विकको हत्यारा पक्राउ, आइफोनले खुलायो हत्याराको ‘क्लु’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ४ गते शुक्रबार ०८:१९

सुकुको मृत्युपश्चात मोबाइलको खोजतलास गरियो । ‘अनुसन्धान गर्ने क्रममा राजेश बुढाथोकीलाई निजले (सञ्जय) ४० हजार ५ सय रुपैयाँमा बेचेको खुल्न आयो । त्यहाँबाट अनुसन्धानको मेन लिंक भयो’, एसपी थापाले भने ।

पोखरा

मंसिर ५ गते पोखराको नागढुंगास्थित युनिक होटलको कोठा नम्बर २०२ मा एक महिला अचेत अवस्थामा फेला परिन् । तनहुँ भीमादकी ३८ वर्षीया सुकु विकलाई उद्धार गरेर उपचारका लागि नागढुंगाकै चरक मेमोरियल अस्पताल पु¥याइयो ।

साँझ ७ बजे चरक मेमोरियल अस्पतालमा चिकित्सकले मृत घोषणा गरिदिए । पृथ्वीचोक बसपार्ककै शिला रेस्टुरेन्टमा सुकु २ वर्षदेखि काम गर्दै आएकी थिइन् ।

साथीलाई भेट्न जान्छु भनेर निस्किएकी उनी अघिल्लो रात साँझ ७ बजे अन्दाजी ३० वर्षीय युवकसँग युनिक होटल पुगेकी हुन् ।

सुकुको शंकास्पद मृत्युपछि प्रहरीले सुरुमा ६ जनालाई पक्राउ ग¥यो । पक्राउ परेकाबाट प्रहरीले ‘क्लु’ फेला नपारेपछि उनीहरु तारेखमा छुटे । होटलमा सीसिटिभी क्यामेरा थिएन । सुकुसँगै गएका युवकले राजन गुरुङको परिचय टिपाएका थिए ।

लामो समयसम्म क्लु फेला नपर्दा कास्की प्रहरीलाई सुकु हत्या प्रकरण टाउको दुखाइको विषय बनिरह्यो । ८ महिनापछि कास्की प्रहरीले हत्यारालाई बुधबार बल्ल पक्राउ गरेको छ । बाग्लुङको गल्कोट नगरपालिका–९ मल्मका २९ वर्षीय सञ्जय विकलाई पक्राउ गरेर कास्की प्रहरीले शुक्रबार दिउँसो सार्वजनिक गरेको छ ।

नवलपुरको गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित डेराबाट इलाका प्रहरी कार्यालय गैंडाकोटको सहयोगमा कास्की प्रहरीले पक्राउ गरेको हो । हत्या भएको बखतमा उनी कास्कीको पोखरा महानगरपालिका– ७ घारीपाटनस्थित नागवेली मार्गमा कोठा भाडामा बस्ने गरेको प्रहरीले जनाएकोे छ । हत्यापश्चत डेरामा श्रीमति र छोेरालाई छाडेर उनी फरार भएका हुन् ।

सुकुको हत्याको क्लु मत्युअघि प्रयोग गरेको आइफोन १३ प्रो म्याक्सले खुलाएकोे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्ष (एसपी) मोहनकुमार थापाले बताए । उनका अनुसार सुकुको मृत्युपश्चात मोबाइलको खोजतलास गरियो । ‘अनुसन्धान गर्ने क्रममा राजेश बुढाथोकीलाई निजले (सञ्जय) ४० हजार ५ सय रुपैयाँमा बेचेको खुल्न आयो । त्यहाँबाट अनुसन्धानको मेन लिंक भयो’, एसपी थापाले भने ।

महोत्तरीको बर्दीवास नगरपालिका–७ का २६ वर्षीय बुढाथोकीको साथबाट केन्द्रिय अनुसन्धान ब्यूरो काठमाण्डौको टोलीले आइफोन फेला पारेको हो । बुढाथोेकीलाई पक्राउ गरेर अनुसन्धान गर्दा सञ्जय विकको बारेमा पत्ता लागेको डिएसपी थापाले बताउँछन् ।

प्रहरीले सञ्जयको डेराबाट द नर्थ फेस लेखेको निलो रङको ज्याकेट र पोेको फोेन बरामद गरेको छ । सुकुसँग होटलमा गएको बेला पनि उनले टोपिसहितको द नर्थ फेस लेखेको निलो रङको ज्याकेट पहिरिएका थिए ।

पोको मोबाइल बरामद गरेर अनुुसन्धान गर्दा प्रहरीले सुकु विककको मोबाइल नम्बर स्क्रिनस सर्ट गरी राखेको तस्वीर, आइफोन समातेर खिचेको तस्बिर फेला पारेको जनाएको छ । यस्तै मृतकको सुनको सिक्रि र मुन्द्रासमेत सञ्जयले विक्री गरेको खुलेको हो ।

मृत्यु हुनुभन्दा अघिल्लो साँझ सुकुसँग युनिक होटलमा जाने सञ्जय भनेर होटल सञ्चालक, देख्ने साथी र आफन्तले सनाखत गरेका छन् । एसपी थापाका अनुसार सञ्जय नै हत्या गरेको स्वीकार गरेका छन् ।

साथीमार्फत सुकु र सञ्जयको चिनजान भएको हो । चिनजानको छोटो समयमा नै उनीहरुको भेट भएको प्रहरीले जनाएकोे छ । सिरानीले नाकमुख थुनेर घाँटी थिचेर हत्या गरेको पोष्टमार्टम रिपोर्टले देखाउँछ ।

आइफोन र सिक्रीको लोभले हत्या भएको प्रहरीको अनुमान छ । ‘होटलको कोठासम्म यिनीहरु पुग्छन् । होटलमा पुगिसकेपछि उ (सञ्जय) ले ठूलै सिक्री देख्यो । मोबाइल पनि आइफोन १३ प्रो म्याक्स देख्यो । उ त अपराधिक मनोवृत्तिको मान्छे । सामान्य मजदुरी गर्ने मान्छेले दुई तीन लाखको सामान देख्यो । लोभिएर हत्या भएको हुनसक्छ’, हत्याबारे एपसी थापाको विश्लेषण ।

हत्याको साविते वयान दिएपनि अनुसन्धानकै क्रममा रहेकोे उनले सुनाए । मृतक सुकु र हत्यारा सञ्जयबीच विहेको कुरासमेत चलेको खुलेको छ ।

यसअगाडि पनि विक चोरी र अभद्र व्यवहार कसुरमा समातिएका थिए । २०७२ असार १९ गते जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी कसुरमा मुद्वा चलाएको थियो ।

यस्तै, २०७३ भदौ १ गते वडा प्रहरी कार्यालय बैदामले अभद्र व्यवहार कसूरमा मुद्दा चलाएकोे प्रहरीको अभिलेखमा देखिएको छ ।

प्रकाशित मिति २०८१ साउन ४ गते शुक्रबार ०८:१९
हजुरको प्रतिक्रिया