पोखरा ।
काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत आमनेसामने हुँदैछन् ।
खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा साँझ पाँच बजे सुरु हुनेछ । यी दुई टोलीबीच दोस्रो पटक खेल हुन लागेको हो ।
यसअघि हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले इरानलाई ३–० को सोझो सेटमा हराएको हो । योसँगै नेपालले लिग चरणमा इरानसँग बेहोरेको हारको बदला लिएको छ ।
लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।
हिजो भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको थियो । लिग चरणमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।
त्यसअघि तेस्रो स्थानका लागि आज दिउँसो दुई बजे इरान र श्रीलंकाबीच खेल हुनेछ । पाँच वटा देश सहभागी प्रतियोगितामा माल्दिभ्स एक अकं पनि नजोडी लिगबाटै बाहिरिएको थियो ।
यसैबीच नेपालकी कप्तान अरुणा शाहीले मंगलबारको लय कायम राख्दै फाइनलमा भारतलाई हराउने विश्वास व्यक्त गरिन् ।
अरुणाले छिमेकी राष्ट्र भारतसँगै जस्तोसुकै अवस्थामा पनि नेपालले राम्रो खेल्दै आएको स्मरण गर्दै सोही मानसिकता र प्रदर्शन दोहोरिने विश्वास व्यक्त गरेकी हुन् ।
कप्तान अरुणा शाहीले इरान जस्तै भारतलाई पनि फाइनलमा सोझो सेटमा हराउँदै उपाधि जित्ने लक्ष्य रहेको बताएकी छन् ।
प्रकाशित मिति २०८१ साउन २३ गते बुधबार ०९:५४




