२०८३ असोज २५ गते आइतबार

काभा महिला भलिबलः नेपाललाई पराजित गर्दै भारत बन्यो च्याम्पियन

काभा महिला भलिबलः नेपाललाई पराजित गर्दै भारत बन्यो च्याम्पियन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २३ गते बुधबार ०७:३३

काभा वुमन्स नेसन्स भलिबलको उपाधि भारतले जितेको छ ।

पोखरा
काभा वुमन्स नेसन्स भलिबलको उपाधि भारतले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको प्रतियोगिताको फाइनल खेलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । फाइनलमा भारतलाई हराएर उपाधि रक्षा गर्दै इतिहास रच्ने नेपाली महिला भलिबल टोलीले अवसर गुमाएको छ ।

नेपालले पहिलो सेटमा २५–२३ को जित निकाल्यो । भारतलाई २३ मा रोक्दै नेपालले २१ अंकबाट लगातार चार अंक जित्दै सेट जित्न सफल भयो । दोस्रो सेट भने फराकिलो अन्तरले भारतलाई सुम्पिएको छ । २५–१४ को फराकिलो अन्तरले भारतलाई सुम्पिए पनि तेस्रो सेटमा सुरुवाती अग्रता लिएको नेपालले जोगाउँदै जीत निकाल्यो ।

तेस्रो सेटमा २५–२२ को जीत निकाल्दै नेपालले दर्शकमाझ उत्साह बढायो । चौंथो सेटमा नेपाली टोलीले भारतलाई रोक्न सकेन । भारतले २५–२१ को जित दर्ता गर्दै पाँचौ सेटको यात्रा तय ग¥यो ।
पाँचौ सेटको सुरुवातमै नेपालले लय गुमायो । १५–५ ले पाँचौ सेट जित्दै भारत च्याम्पियन बन्न सफल भयो ।

लिग चरणको खेलमा शनिबार भारतलाई नेपाली टोलीले ३–२ को सेटमा हराएको थियो । त्यो जीत नेपाली महिला भलिबल टोलीको ऐतिहासिक उपलब्धी हो । सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागको फाइनलमा अन्तिम सेट गुमाउदै नेपाल भारतसँग पराजित भएको थियो ।

२०२३ को काभा महिला च्यालेन्ज कपमा पनि नेपाल भारतसँग घरेलु मैदानमा स्तब्ध हुँदै उपाधी हात पार्नबाट चुकेको थियो । काभा महिला नेसन्स लिग भलिबलको तेस्रो स्थान इरानले प्राप्त गरेको छ । बुधबार भएको खेलमा इरानले श्रीलंकालाई ३–० को सmोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो ।

श्रीलंकालाई इरानले २५–२२, २८–२६, र २५–१७ ले पराजित गर्दै तेस्रो बन्यो । गत बिहीबारदेखि सुरु प्रतियोगितामा नेपाल, भारत, इरान, श्रीलंकासँगै माल्दिभ्स सहभागी थिए । माल्दिभ्स अंकवीहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रकाशित मिति २०८१ साउन २३ गते बुधबार ०७:३३
हजुरको प्रतिक्रिया