पोखरा
मर्दी हिमाल पदयात्रामा जाने पर्यटकलाई फोहोर जथाभावी फ्याँक्न बन्देज लगाइएको छ । पदयात्रामा पुगेका पदयात्रीले आफूले लगेको फोहोर आफैंले फिर्ता ल्याउने बाध्यकारी नियम लागू गर्न लागिएको हो ।
यो नियम असोज १ गतेदेखि लागू हुनेछ । पर्यटकले मात्रै नभएर त्यहाँका पर्यटन व्यवसायीले पनि जथभावी फोहोर गर्न पाउने छैनन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), मर्दी हिमाल पर्यटन व्यवस्थापन समिति लगायत सरोकारवाला निकाय मिलेर पदमार्ग क्षेत्रमा फोहोर कम गर्न आफूले गरेको फोहोर आफैंले व्यवस्थापन गर्ने नियम बनाइएको हो ।
पर्यटकले लैजाने जंक फुड, चक्लेटका खोल र पेय पदार्थका बोत्तल जथाभावी फालेर फोहोर भएपछि व्यवस्थित गर्नलाई नियम बनाएको मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले बताए । ‘कुहिने फोहोरलाई माथि नै व्यवस्थापन गर्ने नकुहिने फोहोर सिसा र प्लाष्टिकजन्य वस्तुहरु आफैैंले फिर्ता लैजाने निर्णय भएको छ’, उनले सुनाए ।
पदमार्गका विभिन्न स्थानमा पर्यटक राख्न होटल सञ्चालन गरिरहेका व्यवासायीले पनि सिसा र प्लाष्टिकजन्य फोहोर मोटरबाटो (सिदिङ) सम्म झार्नुपर्ने उनको भनाइ छ । व्यवसायीले सिदिङ झारेको फोहोर एक्यापसँगको सहकार्यमा व्यवस्थापन हुनेछ । एक्यापले पोखराको ग्रिन भेन्चर संस्थासँग मर्दी हिमाल पदमार्गका व्यवसायीले संकलन गरेको फोहोर पुर्नप्रयोगका गर्ने सम्झौता गरिसकेको जनाइएको छ ।
आफूले लगेको फोहोर फिर्ता ल्याउनलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को चेकपोस्टबाट सचेतनामूलक स्टिकर पर्यटकलाई वितरण गर्ने तामाङले जानकारी दिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय ल्वाङका प्रमुख लेखनाथ गौतमले अत्याधिक फोहोर बढेकाले व्यवस्थापन गर्न लागेको उल्लेख गरे । उनका अनुसार नेपाली पदयात्रीको चाप बढेसँगै पदमार्ग वरपरका क्षेत्रमा फोहोरमैला बढिरहेको छ । विदेशीको तुलनामा नेपाली पर्यटकले आफूले गरेको फोहोर व्यवस्थापनमा ध्यानै नदिने उनको भनाइ छ ।
सन् २००० ताका क्यापिङका लागि छिटफुट विदेशी मात्रै मर्दी पदयात्रामा उक्लन्थे । बर्खाको बेला सिदिङतिरबाट भैंसी र भेडा लिएर चरनका लागि उक्लिएकाहरु चिसो बढ्दा बेसी ओर्लन्थे ।
सशस्त्र जनयुद्धको प्रभावले क्यापिङ गर्न विदेशी आउनै छाडे । विस्तृत शान्ति सम्झौतापछि थालिएको प्रबद्र्धनले विदेशी पर्यटकलाई तान्यो । कोरोना कहरपछि उकुसमुकुस नेपाली पनि पदयात्रामा उक्लने ट्रेन्ड बढ्यो । त्यसपछिका वर्ष मर्दी हिमालको आधार शिविरसम्म पुग्ने नेपाली पदयात्री विदेशीको तुलनामा निकै बढी छन् ।
वार्षिक २० हजारसम्म नेपाली पर्यटक मर्दीको उकालो चढिरहेका छन् । तर, उनीहरुको संख्यासँगै फोहोरको मात्रासमेत बढिरहेको छ । हिमाली क्षेत्रलाई सफा राख्न नेपाली पर्यटकले आनीबानी परिवर्तन गर्नुपर्ने देखिन्छ ।
वातावरणीय हिसाबले सफा राख्न आवश्यक भएकाले स्थानीय पर्यटन व्यवसायीसँग मिलेर फोहोर व्यवस्थापनको सुरुवात गरेको अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय ल्वाङका प्रमुख गौतम बताउँछन् । उनी भन्छन्, ‘पदायात्रीको संख्या राम्रो भएपनि फोहोर बढ्यो भनेर गुनासो हामीकहाँ आउने गरेको हो । त्यसैले संरक्षण क्षेत्रलाई फोहोरमुक्त बनाउन लागेका छौं ।’ पदमार्ग सफा हुँदा पर्यटकको आकर्षण झनै बढ्ने उनको विश्वास छ ।
हिमाल आसपासका क्षेत्रमा संकलन भएका फोहोर जलाउँदा जलवायु परिवर्तनको असर खेपिरहेका हिमाललाई झनै प्रभाव पारिरहेको उनले बताए ।
नियम नमान्नेलाई कारबाही गर्ने जिम्मा मर्दी हिमाल पर्यटन व्यवसायी समितिलाई नै दिएको प्रमुख गौतमले जानकारी दिए ।
दशैं तिहारको बेलादेखि पर्यटक उक्लने मर्दी बर्खा नलागुन्जेल गुल्जार हुन्छ । पोखराबाट हिमाललाई स्पर्श गर्न आधार शिविरसम्म पुग्ने छोटो दुरीमा भएकै कारण मर्दी पदमार्ग पदयात्रीले निकै रुचाइरहेका छन् ।
पोखराबाट हिँडेको तेस्रो दिनमै ४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी हिमालको आधार शिविरमा पुगेर हिमालसँग सामिप्य गाँसेर फर्कन सकिन्छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका– ९ मा पर्ने मर्दी हिमाल पदयात्रामा ३ हजार ५५० मिटरको उचाइमा रहेको भ्यूपोइन्टबाट रोमाञ्चक दृश्यपान गर्न स्वदेशी र विदेशी पाहुनाको ताँती लाग्ने गर्छ । त्यहाँबाट माछापुच्छ्र्रे, मर्दी, गंगापूर्ण, गन्धर्वचूलीलगायत हिमालका लस्कर छ्यांगै खुलेर घामको किरणले स्पर्शको गरेको दृश्यले आकर्षित गर्छ ।
प्रकाशित मिति २०८१ भदौ १८ गते मंगलबार ०१:०९




