म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीया गर्भवती मीना परियारको हत्याका मुख्य आरोपी सहित पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला न्यायाधीश प्रकाश पण्डितको इजलासले थुनछेक बहसपछि मृतक परियारका प्रेमी २५ वर्षीय राम खत्री, मुख्य अभियुक्तकी आमा ४५ वर्षीया रेणु खत्री, दाई विक्की खत्री, भाई श्याम खत्री, सालो नाता पर्ने २३ वर्षीय रोजन खत्री र २३ वर्षीय श्याम खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
बहस पछि मुख्य आरोपी र अन्य अभियुक्तहरूलाई घटनामा संलग्न छैन भन्ने पुष्टि हुन सक्ने आधार नभएकाले पुर्पक्षमा राख्ने आदेश भएको जिल्ला अदालत म्याग्दीका शाखा अधिकृत डिल्लिराज पौडेलले बताए ।
गत वर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारलाई उनका प्रेमी २५ वर्षीय राम खत्रीले घरमै पुगेर कुराकानी गर्नु छ भनेर करिब १ सय मिटर तल रहेको चौतारीमा लगेर प्रेम सम्बन्धपछि रहेको गर्भ पतन गराउन पटक–पटक गरेको प्रस्तावलाई मीनाले अस्वीकार गरेपछि धारिलो हतियारले प्रहार गरी हत्या गरेको अभियुक्त खत्रीले स्वीकार गरेका थिए ।
यसैबीच संयुक्त राजनीतिक दलित संघर्ष समितिले प्रारम्भीक न्याय मिलेको प्रतिक्रिया दिएको छ ।
प्रकाशित मिति २०८१ भदौ २६ गते बुधबार ०९:३९




