के अब आन्दाेलनले गति लिन्छ ?
पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे भूमिकामाथि धेरै राजनीतिक दलहरूले शंका उपशंका व्यक्त गरेका थिए । अन्य राजनीतिक दल मात्र नभइ उनकै दल नेपाली कांग्रेसभित्रका अन्य थुप्रै सहकर्मीहरूमा समेत संसद विघटनपछि उनकाे भूमिका र सक्रियताका सम्वन्धमा पुरापुर भर पर्न सकिने अवस्था रहेकाे थिएन । वरिष्ठ नेता रामचन्द्र पाैडेलले त सार्वजनिक रूपमै देउवाकाे भूमिकामाथि प्रश्न गरेका थिए ।
संसद विघटन विरुद्धको आन्दोलन प्रभावकारी नदेखिनुमा कांग्रेस सभापति देउवाको भूमिकाले काम गरेको प्रस्ट छ । संयुक्त आन्दाेलनका लागि पटक पटक भएका छलफलपनि देउवाकै कारण अनिर्णित बनेकाे ठहर प्रचण्ड माधव समूहले गरेकाे छ ।
आफ्नै पार्टीले आयाेजना गरेकाे विरोधसभामा प्रधानमन्त्री ओलीले चुनाव गराउने विषयमा विश्वस्त हुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा जानुपर्ने मत राखेका थिए । र, चुनावका लागि कार्यकर्तालाई निर्देशन पनि दिएका थिए ।
प्रतिनिभिसभा विघटनपछि घोषित वैशाख १७–२७ को मितिमा प्रधानमन्त्री ओलीले चुनाव गराउन नसक्ने अनुमानकाबीच देउवाको ‘विश्वास’ले तरङ्ग ल्यायो । किन भने निर्वाचन वा प्रतिनिधिसभा पुनःस्थापनाका लागि काँग्रेस अडान निर्णायक देखिन्थ्याे ।
त्यसैले निर्वाचनका सन्दर्भमा ‘देउवा–ओली एउटै बोली’ सुनिएपछि सार्वजनिक रुपमा देउवाको भूमिकामाथि प्रश्न उठ्यो । नागरिक समाजका अगुवाद्वय देवेन्द्र पाण्डे र कृष्ण पहाडीबाट ‘देउवाको सदाबाहार ढुलमुले चरित्र चिन्ताको विषय’का रुपमा चित्रित गरियो ।
सभापति देउवाले सबैभन्दा ठूलो अदालत जनता भएको भन्दै चुनावमै जोड दिएका थिए । त्यसपछि सोही दिन महामन्त्री शशांक कोइरालाको महराजगञ्जस्थित निवासमा बसेको पौडेल पक्षीय बैठकले सभापति देउवाको अभिव्यक्तिले ओलीको असंवैधानिक कदमलाई बल पुर्याएको निष्कर्ष निकालेका थियो ।
बैठकले असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याएर मात्रै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो । तर देउवा ओलीप्रति नरम नीति राखेर चुनावी माहोलका लागि केन्द्रित थिए । त्यही अनुसार उनी उपत्यका बाहिर कार्यकर्ता भेटघाटमा जोड दिएको पाइन्छ । पार्टी पौडेल पक्षको जोडबलबाट देउवा टसमस नभएका बेला बुधबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बूढानीलकण्ठ पुगे ।
संसद विघटनले नेकपामा निम्याएको विभाजनबाट केन्द्रदेखि प्रदेशसम्मको राजनीतिक मोर्चामा निर्णायक देखिएको काँग्रेससँग प्रचण्ड–नेपालले सहकार्य खोजेको देखिन्छ । सोही अनुसार आन्दोलन, सत्ता र चुनावसम्म मिलेरअघि बढ्न प्रस्ताव लिएर प्रचण्ड– नेपाल बुधबार देउवा निवास गएपछि भने ओलीप्रतिको ‘विश्वास’मा देउवामा टुटेको संकेत देखिएको छ । बिहीबार ओलीलाई बल पुग्ने देउवाको अविव्यक्ति संशोधित भएको छ ।
पर्वतको शंकरपोखरीमा शहिद हरिदत्त तिवारी स्मृति भवनको उद्घाटनमा ओलीप्रतिको देउवाको विश्वास डरमा बदलिएको छ । असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर चुनावको घोषणा गरेपनि सहजै तोकेकै मितिमा चुनाव गराउँछन् भन्ने आफूलाई विश्वास नलागेको देउवाको बुझाइ छ ।
‘प्रजातन्त्रमै खतरा हुने गरी ओलीले प्रतिनिधि सभा भंग गरे । ओलीले कहाँ चुनाव गराउँछन् ? गराउँदैनन् । चुनाव नगर्ने प्रतिनिधि सभा पनि खोस्ने, यस्तो हुन सक्छ, हामीलाई डर छ’ देउवाको भनाइ थियो ।
यस्तै ओलीबाट अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम भएको देउवाको आरोप छ । यसअघि अदालतमा विचाराधीन मुद्दामा काँग्रेसको नबोल्ने नीति रहेको बताउँदै आएका देउवाले प्रधानमन्त्री ओली सडकमा बहस गर्दै हिँडेकोमा पहिलो पटक प्रश्न उठाएका छन् ।
‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ ? राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नुभएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस् । किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?,’ देउवाको प्रश्न थियो ।
उनले न्यायालयमा विचाराधीन रहेको संसद् विघटनको मुद्दामा काँग्रेसले पनि कुनै दबाब नदिने बताए । ‘अदालतले विवेक प्रयोग गर्ने नै छ, अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न हुँदैन,’ देउवाको भनाइ छ ।
यस्तै देउवाले तत्कालका लागि नेकपाको दुवै पक्षसँग सहकार्य हुन नसक्ने बताएका थिए । प्रधानमन्त्री ओलीसँग पनि आफूले कुनै खालको सहमति नगरेको प्रस्ट पार्दै काँग्रेस संसद पुनःस्थापना र निर्वाचन दुवै विकल्पका लागि खुला रहेको देउवाको भनाइ छ ।
नेकपा विभाजित भएको अवस्थामा चुनाव हुँदा काँग्रेस ठूलो दल बन्न सक्ने देउवाको बुझाइ छ । दुई वर्षपछि हुने चुनाव पाँच महिनापछि हुँदा केही फरक नपर्ने देउवाको तर्क छ । आन्दोलनका कार्यक्रम पनि चुनावमुखी बनाउन देउवाको निर्देशन छ ।
सोही अनुसार काँग्रेस पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ मा सबै वडामा काँग्रेसले विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ ।
पछिल्ला दिनहरूमा ओलीप्रति देउवाले देखाएकाे अविश्वासले के आगामी दिनकाे आन्दाेलनलाइ प्रभाव पार्छ ? कि देउवा सधैझै उहि ढुलमुले नीतिमै अल्झिरहने छन ? समयले यसकाे हिसाव किताव पक्कै गर्ला !
प्रकाशित मिति २०७७ माघ २ गते शुक्रबार ०८:२४




