पोखरा
पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको मतदानमा २ हजार २५१ मत खसेको छ । संघको कार्यालय गैह्रपाटनमा बिहान ८ बजेदेखि भएको मतदान केहि समयअघि सकिएको हो । २ हजार ९ सय ७ सदस्यमध्ये २ हजार २५१ जना मतदानमा सहभागी भएका हुन् ।
मत गणनामा आइतबार बिहान ८ बजेदेखि गर्ने तयारी भएको निर्वाचन समितिका संयोजक कृष्णमोहन श्रेष्ष्ठले जानकारी दिए । संघको नेतृत्वको लागि अर्जुन पोखरेल र गोकर्ण कार्की प्रतिस्पर्धामा छन् । पूर्व महासचिव समेत रहेका पोखरेल यसअघि ३४ औं महाधिवेशनमा अध्यक्षमै पराजित भएका हुन् । कार्की पछिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा कार्यरत् छन् ।
चुनावमा पोखरेल आफ्नो प्यानलसहित होमिएका छन् । अघिल्लो कार्यसमितिका पदाधिकारीलाई सम्हाल्न नसक्दा कार्की भने एक्लै चुनावमा छन् । वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्विरोध निर्वाचित भैसकेका छन् । अब पदाधिकारीतर्फ अध्यक्षसहित उपमहासचिवमा मात्रै मतदान भएको हो । उपमहासचिवमा पोखरेल प्यानलबाट बालकृष्ण कोइराला प्रतिस्पर्धामा छन् भने हालका सदस्य सुदीप प्रधानाङ्गले उनलाई चुनौती दिएका छन् ।
पोखराको सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघमा कार्यसमितिको कार्यकाल २ वर्षको हुने गर्छ । कार्यसमितिको पदाधिकारीमा अध्यक्षसहित ७ जना, सदस्यतर्फ खुला १०, वस्तुगत ४, एसोसियट २ र उद्योगतर्फ १ सदस्य निर्वाचित हुने व्यवस्था छ ।
प्रकाशित मिति २०८१ भदौ २९ गते शनिबार ०७:३३




