२०८३ असोज २५ गते आइतबार

बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार

बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २५ गते आइतबार ०२:३६

बाढीले आरूघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भाग बाढीले बगाएको उप्रेतीले जानकारी दिए । उनले माछीखोलाको तल्लो बस्तीमा बाढी पस्दा २० भन्दा बढी घर जोखिममा परेको समेत जानकारी दिए ।

पोखरा

बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

आईतबार दिउँसो राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै बाढी प्रभावित क्षेत्रमा फसेका ४७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टरसहित ३ सय ८६ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

उनले बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको बताए । सोही क्षेत्रमा एउटा घर बगाएको र अर्को एउटा घरमा बाढी पसेको उनले जानकारी दिए ।

त्यसैगरी बाढीले धार्चे गाउँपालिका–५ माछीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुलसमेत बगाएको जानकारी दिए ।

उनले बाढीको वास्तविक कारण पत्ता लगाउन तथा क्षतिग्रस्त पुलहरूको अवस्था अध्ययन गर्न प्राधिकरण र सडक विभागको प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको समेत जानकारी दिए ।

बाढीले धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सातदेखि आठवटा घर बगाएको सूचना प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

बाढीले आरूघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भाग बाढीले बगाएको उप्रेतीले जानकारी दिए । उनले माछीखोलाको तल्लो बस्तीमा बाढी पस्दा २० भन्दा बढी घर जोखिममा परेको समेत जानकारी दिए ।

उनले भने, ‘नेपाली सेनाको चारवटा हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन गरिएका छन् । प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको अवस्था छ । बाढी आउनुको वास्तविक कारण बुझ्न र आरूघाटस्थित पुल बाढीले बगाएपछि उक्त स्थानमा तत्काल बेलीब्रिज राख्न सकिने वा नसकिने सम्बन्धमा सम्भाव्यता अध्ययन समेतका लागि प्राधिकरण र सडक विभागबाट प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । र हालसम्म नेपाली सेनाबाट १२७ जना, नेपाल प्रहरीबाट ८३ जना र सशस्त्र प्रहरी बल नेपालबाट १७७ जना गरी ३ सय ८६ जना सुरक्षाकर्मी समेत त्यो ठाउँमा परिचालन गरिएका छन् । बाढीका कारण क्षतिको विवरण हालसम्म प्राप्त भएको विवरणमा चुमनुब्री गाउँपालिका ३ न्याक्चेतबाट सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । सोही स्थानमा एक घर बगाएको र एक घरमा बाढी पसेको छ । गोरखा धार्चे गाउँपालिका ५ स्थित माछीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको अवस्था छ । र धार्चे गाउँपालिका ३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र वरिपरि रहेका सात, आठवटा घरहरू बगाएको सूचना पनिज प्राप्त भएको छ । आरूघाट गाउँपालिका ९ नयाँपुल स्थित गोर्खाको आरूघाटबाट धादिङ जोड्ने पक्की पुल तीन भाग रहेकोमा गोरखातर्फको एक भाग बगाई क्षति गरेको अवस्था छ र सोही ठाउँमा माछीखोला स्थित तल्लो बस्तीमा बाढी पसेको २० भन्दा बढी घरहरु जोखिममा रहेको सूचना पनि प्राप्त भएको छ । आरूघाट गाउँपालिका २ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको छ । बूढीगण्डकी ३४१ मेगावाट मुख्य क्याम्प क्षेत्र र केही निर्माण निर्माण उपकरण बगाएको अवस्था छ । दोभान खोला २४.५ मेगावाट क्याम्प क्षेत्रका केही घरहरूमा क्षति, बेली ब्रिज बगाएको अवस्था छ ।’

बाढी गरेको क्षतिको थप विवरण संकलन कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति २०८३ असोज २५ गते आइतबार ०२:३६
हजुरको प्रतिक्रिया