पोखरा ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
पुलिसले माल्दिभ्सको मालेमा शनिबार सम्पन्न फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि हात पारेको हो ।
पुलिसले २५–१६, २५–२१, २५–२३ ले नतिजा आफ्नो पक्षमा पार्यो । लिग चरणबाट पुलिस शीर्ष र हुमो दोस्रो स्थानमा रहँदै उपाधि नजिक पुगेका थिए ।
प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र ताजकिस्तानका ६ टोलीले सहभागिता जनाएका थिए ।
पुलिसले लिग चरणामा हुमो, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को, माल्दिभ्सको वाम्को क्लबलाई ३–२ तथा माल्लिभ्स पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
गत चैतमा सम्पन्न आठौं एनभिए महिला भलिबल लिग विजेताको हैसियतामा पुलिसले यस काभा महिला क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाएको हो ।
प्रकाशित मिति २०८१ असोज ६ गते आइतबार ०७:१८