पोखरा ।
पोखरामा भएको प्रथम पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षेत्रीले जितेका छन् ।
पोखरा महानगरपालिका २२ को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा ८ किलोमिटरको निर्धारित दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै सशस्त्रका निरोजले उपाधि जितेका हुन् ।
पोखरा क्लिक प्रालिले आयोजनामा भएको प्रतियोगितामा ४१ मिनेट २२ सेकेण्डमा दौड पुरा गर्दै सल्यानका रुद्र बुढाथोकी दोस्रो र पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डमा पूरा गर्दै तेस्रो भए ।
विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ७ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे । विश्व शान्ति स्तुपदेखि सुरु पर्वतीय दौड, पुम्दीकोट विशाल महादेवको मूर्ति, पोखरा २२ को वडा कार्यालय हँुदै बुद्ध पार्कमा पुगेर टुंगिएको थियो ।
महिलातर्फ काभ्रे चौताराकी नितु तामाङले उपाधि जितिन् । उनले निर्धारित दूरी ५५ मिनेट २१ सेकेण्डमा पार गरेकी हुन् । यु–१६ प्रतिष्पर्धामा पोखरा–२२ का सागर देवकोटा प्रथम भए । पोखरा–२२ स्तरीय दौडमा सुजिल परियार प्रथम भए । उनले ५३ मिनेट ६ सेकेण्डमा दौड पूरा गरेका हुन् । विजेतालाई जनही ७ हजारको साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।
सो अवसरमा पर्यटन, उद्यम र समाजसेवा क्षेत्रबाट विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई विशेष सम्मान गरिएको छ
प्रकाशित मिति २०८१ असोज १२ गते शनिबार ०७:११




