पोखरा ।
पोखराको नदीपुरमा जारी क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधिका लागि बागलुङको गलकोट स्पोर्टस क्लव र एपीएफ पोखरा भिड्ने भएका छन् ।
पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा जारी ८औं संस्करणको क्लव स्तरीय भलिबल प्रतियोगिताको सेमिफाइलनमा जित निकाल्दै गलकोट र एपीएफ पोखराले उपाधि भिडन्त पक्का गरेका हुन् ।
पहिलो सेमिफाइलनमा गलकोटले आँधिखोला भलिबल टिम दिल्लीलाई ३–२ को सेटमा पराजित गर्न सफल भयो । पहिलो सेटमा १८–२५ ले गुमाएको गलकोटले दोस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट १९–२५ ले आँधिखोलालाई सुम्पिएको गलकोटले चौथो सेट २७–२५ ले पुनः आफ्नो पक्षमा पारेको थियो । पाचौं सेटमा आँधिखोलालाई १५–१० ले पराजित गर्दै गोलकोटले फाइलन यात्रा तय गरेको हो ।
दोस्रो सेमिफाइलनमा एपिएफ पोखराले नेपाल युथ स्पोर्टस क्लव जापानमाथि सहज जित निकाल्यो । एपिएफसँग नेपाल युथ ३–० को सोझो सेटमा स्तब्ध बन्यो । एपीएफले २५–२२, २५–२३ र २७–२५ को सोझो सेटमा पराजित गर्दै गलकोटसँगको भेट पक्का गरेको हो ।
महिलातर्फ भने नदिपुर पोखरा टिम र धादिङ स्पोट्र्स क्लब फाइलनमा पुगेका छन् । नदिपुर पोखराले शान्त भलिबल र धादिङ स्पोट्सले टिम बागलुङलाई सोझो सेटमा पराजित गर्दै फाइलनमा पुगेका हुन् । नदिपुर पोखराले शान्त भलिबललाई २५–८, २५–१८ र २५–१७ ले पराजित ग¥यो । धादिङ पोखराले टिम बागलुङलाई २५–२३, २५–११ र २५–१७ ले पराजित गर्न सफल भयो । दुवै फाइलन खेल मंगलबार हुनेछ । फाइलन खेल महिलातर्फ बिहान १० बजे र पुरुषतर्फ दिउँसो एक बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फको विजेताले १ लाख ३० हजार र उपविजेताले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फ विजेताले ५० हजार र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रकाशित मिति २०८१ असोज १४ गते सोमबार ०७:५५




