स्वास्थ्य क्षेत्रका समस्यालाई पहिचान र समाधानको खोजी गर्ने प्रतिवद्धता
पोखरा ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले अल्पकालीन, मध्यमकालीन र दिर्घकालीन कार्ययोजना सार्वजनिक गरेका छन् ।
मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्री पाठकले एक सय बुदाँमा कार्ययोजना सार्वजनिक गरेका हुन् ।
पाठकले नीतिगत तथा कानूनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ र नवजात शिशु स्वास्थ्य, संस्थागत क्षमता विकास, सेवा प्रवाह गुणस्तरको सुनिश्चिततालाई कार्ययोजनामा समेटेका छन् ।
चिकित्सक एवं स्वास्थ्यकर्मीको प्रोत्साहन सम्बन्धी कार्यविधि बनाउने, प्रदेश जनस्वास्थ्य प्रयोशाला सञ्चालन कार्यविधि, निजि स्वास्थ्य संस्था दर्ता र अनुगमन सम्बन्धि कार्यविध र आकस्मिक स्वास्थ्य उपचारकोष व्यवस्थापन कार्यविधी बनाउने मन्त्री पाठकको योजना छ ।
पूर्ण संस्थागत सुत्केरी अभियानलाई प्रभावकारी बनाउने, ग्रामिण अल्ट्रासाउण्ड सेवालाई प्राथमिकताका साथ विस्तार, पाठेघर खस्ने समस्या र फिस्टुला रोगको पहिचा र निशुल्क उपचारको व्यवस्था मिलाइने योजना मन्त्री पाठकले सुनाए ।
स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माण, सबै जिल्ला अस्पतालमा डाक्टरसहितको सेवा र उपकरणको भरपुर प्रयोग, अस्पतालमा अनलाईन प्रणालीबाट टिकट लिने व्यवस्था, स्वास्थ्य विमाको दायरा बढाउन पहल गर्ने र प्रदेश जनस्वास्थ्य ऐन तथा नियमावली तर्जुमा गरिने उनको भनाई छ ।
स्वास्थ्य क्षेत्रमा रहेका समस्यालाई पहिचान गर्ने र तिनको समाधानको खोजी गर्ने मन्त्री पाठकले प्रतिवद्धता व्यक्त गरे ।
प्रकाशित मिति २०८१ असोज १६ गते बुधबार ०७:०५




