२०८३ साउन २१ गते बिहीबार

नेपाल र अमेरिकाकाे पहिलाे टि ट्वान्टी आई कस्ताे हाेला ?

नेपाल र अमेरिकाकाे पहिलाे टि ट्वान्टी आई कस्ताे हाेला ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक १ गते बिहीबार ०५:४०

सन २०१४ मा टि-ट्वान्टी आई डेब्यु गरेकाे नेपालका लागि अमेरिका २५ औं प्रतिद्वन्दी हुनेछ । 

खेल नेपाली समय अनुसार शुक्रवार विहान ५ः४५ बजेबाट सुरु हुने

पाेखरा ।

शुक्रबार बिहान टि-ट्वान्टी आईमा पहिलाे पटक नेपालले अमेरिकाकाे सामना गर्ने भएकाे छ । यी टाेली टि-ट्वान्टी फर्म्याटमा पहिलाे पटक आमनेसामने हुन लागेका हुन् ।

सन २०१४ मा टि-ट्वान्टी आई डेब्यु गरेकाे नेपालका लागि अमेरिका २५ औं प्रतिद्वन्दी हुनेछ ।

टि ट्वान्टी आईमा आफ्नो ९३औं खेलमा नेपालले अमेरिकासँगको खेल शुक्रवार नेपाली समय अनुसार विहान ५ः४५ बजेबाट सुरु हुनेछ । ओडिआईमा ७ पटक आमनेसामने भइसकेका नेपाल र अमेरिका टि ट्वान्टी आईमा भने पहिलो पटक आमने सामने हुँदैछन् ।

नेपालले अमेरिकासँग ३ खेलको टि ट्वान्टी आई सिरिज खेलेपछि लिग टु अन्तर्गतको ओडिआई सिरिज खेल्नेछ । त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँगै अमेरिका र स्कटल्यान्ड सहभागी रहने छन् । क्यानडामा भएको लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज र त्यसपछि भएको टि ट्वान्टी आई सिरिजको खराब प्रदर्शनलाई सुधार गर्दै अमेरिका भ्रमणको सुखद सुरुवातको लक्ष्यमा नेपाली टोली रहेको छ ।

अमेरिका पनि पछिल्लो टि ट्वान्टी विश्वकप यताको उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ । घरेलु भुमीमा भएको विश्वकपमा पाकिस्तानलाई पराजित गरि सुपर ८ मा स्थान बनाएको अमेरिकाको त्यसपछिको खेलमा धेरै परिवर्तन आएको छ । अमेरिकाले खेलेको पछिल्लो पाँच टि ट्वान्टीमा ३ मा जित र २ मा हार बेहोरेको छ ।

अमेरिकामा नेपालको प्रदर्शन

टि ट्वान्टी आईमा अमेरिकी भुमीमा नेपालले जम्मा २ खेल खेलेको छ । जसमा नेपालले कुनै जित हासिल गर्न सकेको छैन । गएको टि ट्वान्टी विश्वकपमा नै नेपालले दुवै खेल खेलेको थियो । पहिलो खेलमा डालसमा नै भएको खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । दोस्रो खेलमा फ्लोरिडामा श्रीलंकासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

अमेरिकाले घरेलु भुमीमा १४ टि ट्वान्टी आई खेलेकोमा ९ मा जित, ३ मा हार र २ खेल रद्द भएको थियो । अमेरिकाले घरेलु भुमीमा भएको विश्वकपका २ खेल जित्दै सुपर ८ को यात्रा गरेको थियो । विश्वकप अघि बंगलादेशलाई ३ खेलको सिरिजमा २१ ले पराजित गरेको थियो । त्यसकारण अमेरिका नेपालका लागि बलियो प्रतिद्वन्दीका रुपमा रहन सक्छ ।

प्रकाशित मिति २०८१ कात्तिक १ गते बिहीबार ०५:४०
हजुरको प्रतिक्रिया