पोखरा
राष्ट्रिय संगीतकर्मी संघ कास्कीको आयोजनामा पोखरामा सारंगी उत्सव कार्यक्रम हुने भएको छ । संघले कात्तिक ९ गते पोखरा बुँलौदीको पोखरा इभेन्ट सेन्टरमा उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रम दिउँसो ४ बजेदेखि सुरु हुने संघका अध्यक्ष सुनिल गायकले जानकारी दिए ।
घराना ईभेन्ट्सको सहकार्यमा हुने कार्यक्रमको तयारी तीव्र रुपमा अघि बढाइएको गायकले बताए । कार्यक्रमको मुख्य आकर्षणको रुपमा कर्खा ब्यान्डको प्रस्तुति रहनेछ । सो अवसरमा ब्यान्डले झलकमान गन्धर्व, अग्रज संगीतकार पूर्ण नेपाली र धनबहादुर गायकका कालजयी गीत प्रस्तुत गर्नेछ । कास्कीका विभिन्न स्थानमा रहेका गन्धर्व पाठशालामा सारंगी सिकिरहेकाहरुको पनि प्रस्तुती रहेनछ ।
कर्खा ब्यान्डको गायकमा सुशान्त गायक र निशान गायक, सारङ्गीमा विशाल गायक, मादलमा कमल गायक गितारमा गौरव बर्देवा र सुमन परियार तथा ड्रममा रोशन यादव छन् । उनीहरूले आफ्नो प्रतिभामार्फत संगीतप्रेमीको सांगीतिक तृष्णा मेट्नेछन् ।
उत्सवमा पोखरास्थित विभिन्न सारंगी पाठशालाका प्रशिक्षार्थीको प्रस्तुतिसमेत रहनेछ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको अध्यक्ष गायकले जानकारी दिए । कार्यक्रमको तयारी करिब करिब पूरा भएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति २०८१ कात्तिक ७ गते बुधबार १२:५१




