पोखरा ।
आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, आज भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिन ।
असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ ।
सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ ।
चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ ।
हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ ।
एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ । यसै दिन नवान्न (नयाँ अन्न) को होम गर्ने नेपाली परम्परा छ ।
आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ । त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ ।
विष्णुको अर्को नाम हरि हो । शयन अर्थात् सुत्ने कार्य र बोधको अर्थ उठ्ने भएकाले यी दुई एकादशीको महत्त्व विशेष छ । यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ ।
अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने पुराणमा उल्लेख छ ।
पञ्चांगहरूमा मंगलबार १५ घडी ८ पला अर्थात् दिउँसो १२ बजेर २७ मिनेटसम्म एकादशी रहेको उल्लेख छ ।
आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । सबै नारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
मेला लाग्ने ठाउँका विभिन्न पालिकाहरुले आज सार्वजनिक बिदासमेत दिएका छन् ।
प्रकाशित मिति २०८१ कात्तिक २७ गते मंगलबार ०८:५६




