गोरखा ।
आउँदो मंसिर १६ मा हुने गण्डकी प्रदेशको एउटा वडामा मात्र हुन लागेको उपनिर्वाचनका लागि गोरखा सदरमुकाममा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमै अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले कार्यालय उद्घाटन गरेका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार कार्यालय स्थापना गरिएको हो । कार्यतालिका अनुसार मंसिर २ मा उम्मेदवारी मनोनयन हुनेछ । मंसिर ४ गते उम्मेद्वारको नामावली प्रकाशन गर्ने तालिका रहेको कार्यालय प्रमुख टेकबहादुर कोइरालाले बताए । उनले उम्मेदवारको नाम फिर्ताका लागि मंसिर ५ गते दिउँसो एक बजेसम्मको समय दिइएको जानकारी दिए ।
सोही दिन उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने र १६ गते निर्वाचन हुने बताइएको छ । मंसिर १३ गते राती १२ बजेबाट चुनावी प्रचारप्रसार गर्न नपाइने कार्यालयले जनाएको छ ।
यसअघिका वडाध्यक्ष खिलबहादुर रानाको २०७९ साल कात्तिक १० गते भाइटिकाको दिन असामयिक निधन भएको थियो । त्यस यता रिक्त रहेको वडाध्यक्ष पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
जनशक्ति आधारभूत बिद्यालय अमराई र गोरखकाली आधारभूत बिद्यालय स्वाँरालाई मतदान स्थल तोकिएको छ । जनशक्तिमा दुई वटा मतदान केन्द्र र गोरखकालीमा एउटा मतदान केन्द्र रहने कार्यालयले जनाएको छ । उक्त वडामा दुई हजार २२५ मतदाता रहेको कार्यालयको जनाएको छ ।
प्रकाशित मिति २०८१ कात्तिक ३० गते शुक्रबार ०७:१६




