पोखरा ।
अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।
ताजिकिस्तानको दुसान्बे सेन्ट्रल स्टेडियममा हिजो साँझ भएको खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले हराएको हो ।
नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो । पछिल्लो पटक सन् २०११ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालले अफगानिस्तानलाई १–० ले हराएको थियो । दशरथ रंगशालमा भएको त्यस खेलमा भरत खवासले गोल गरेका थिए ।
अहिले दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले शनिबार भएको दोस्रो खेलमा जित हासिल गरेको हो । पहिलो हाफ गोल रहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा नेपालले आक्रामक लय समात्यो ।
नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक–एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । जिलेस्पीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । रोहितले ७८औं मिनेटमा गोल थपे । रोहितले
नेपालका लागि करियरकै पहिलो गोल गरेका हुन् । त्यसपछि निर्धारित र थपिएको अतिरिक्त समयमा थप गोल हुन सकेन र नेपाल विजयी भयो ।
नेपालले बुधबार भएको खेलमा फिफा वरीयतामा ५१ स्थानमाथिको घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० को हार बेहोरेको थियो ।
फिफा वरीयतामा अफगानिस्तान नेपालभन्दा २५ स्थानमाथि छ । पछिल्लो फिफा वरीयतामा अफगानिस्तान १५१ औँ स्थानमा रहँदा नेपाल १७६ औँ स्थानमा छ ।
प्रकाशित मिति २०८१ मंसिर २ गते आइतबार ०८:५९




