संसद पुनर्स्थापना गर्ने सर्वाेच्चकाे निर्णय
काठमाडौं । ७० औं जन्मदिन मनाइरहेका प्रधानमन्त्री केपी ओलीलाइ सर्वाेच्च अदालतले दिएकाे बर्थ डे गिफ्ट निकै महंगाे पर्ने देखिएकाे छ । सर्वोच्च अदालतले आज संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।
सर्वाेच्चले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएपछि नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । फैसलाकाे स्वागत गर्दै प्रचण्ड र माधव नेपालले एकअर्काेलाइ लड्डु खुवाइदिँदै खुसियाली मनाएका छन् ।
यता, सर्वाेच्चकाे फैसलालाइ कांग्रेसले स्वागत गरेकाे छ । उपचारका लागि भारतको दिल्लीमा रहेका जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।
फैसलापछि सुरक्षा निकाय हाइ हाई अलर्टमा बसेका छन् । मुलुकका विभिन्न स्थानमा फैसलाकाे पक्षमा दिप प्रज्वलन र खुसियाली मनाइएकाे छ ।
प्रकाशित मिति २०७७ फागुन ११ गते मंगलबार ०८:५२



