म्याग्दी ।
लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनी न्यू वेष्ट पोइन्ट आवासिय मावि बेनीले जितेको छ ।
खुल्लामञ्च बेनीमा शनिबार भएको फाइनलमा निर्धारित समय गोलरहित बराबर भएपछि टाइब्रेकरमा समेत बेनी सामुदायिकलाई ४–५ ले न्यू वेष्ट पोइन्टले प्रथम लायन्सको हात पारेको हो ।
बेनी सामुदायिकका एक खेलाडीको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो भने न्यू वेष्ट पोइन्टका खेलाडीको सबै प्रहार सफल भयो ।
प्रतियोगिताको फाइनलमा दुबै पक्षले निर्धारित समयमा केही मौकाहरु पाएपनि सदुपयोग गर्न सकेनन् ।
प्रतियोगिताको विजेतालाई लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, बेनी नगरपालिकाका मेयर सुरत केसीले बिजेता र उपविजेतालाई क्रमश ३५ हजार, उपविजेता २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँनगद प्रदान गरेका थिए ।

अनुशासित टिम धौलागिरी मावि सिंगाले ट्रफी र ५ हजार रुपैयाँ नगद प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सज्जा पुन, उत्कृष्ट गोलरक्षक विपना बिक, उत्कृष्ट मिडफिल्डर रिया पुन, सर्वाधिक गोलकर्तामा न्यू वेष्ट प्वाइन्टकी सरिता पटेल र निसा तुलाचन तथा बेनी सामुदायिककी मोनिका किसान, उत्कृष्ट डिफेन्डरमा वेष्ट प्वाइन्टकी प्रमिशा बानियाँ, उत्कृष्ट स्ट्राइकर सञ्चिता गुरुङ, उत्कृष्ट प्रशिक्षक वेष्ट प्वाइन्टका दिपेन राई र राइजिङ प्लेयर वेष्ट प्वाइन्टकी समृद्धि घर्तीलाई नगद सहित पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा म्याग्दीका १० विद्यालयको सहभागिता जनाएको लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति २०८१ मंसिर १६ गते आइतबार ०९:४७




