लमजुङ ।
लमजुङको राइनास नगरपालिकामा आगामी माघ १ गते देखी चौथो राईनास कप २०८१ खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ ।
राईनास नगरपालिका वडा नं. ६ मा रहेको गौलीटार क्षेत्रिय खेलमैदान समितिको आयोजनामा राईनास कप फुटबल प्रतियोगिताको चौथो संस्करण आयोजना गरिएको आयोजकले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
सिमित टिमको मात्रै सहभागीता गराएर पहिलाका संस्करण भन्दा थप व्यबस्थित तबरले खेल संचालन गर्ने आयोजक संस्था गौलिटार क्षेत्रीय खेलमैदान समितीका अध्यक्ष टेकेन्द्र नाथ चिलुवालले जानकारी दिए । अध्यक्ष चिलुवालका अनुसार यस संस्करणमा १२ टिमले सहभागीता जानाउने छन् ।
गौलिटार क्षेत्रीय खेलमैदान समितीले समग्र राईनास नगरपालिकासंगै लमजुङ जिल्लालाई नै खेलको माध्यमबाट चिनाउने उदेश्यले २०७८ सालदेखी राईनास कप प्रतियोगिता आयोजना गर्दै आएको छ । राष्ट्रका लागि युवा र युवाका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिने प्रतियोगितामा आयोजक टिमबाट राईनास भित्रका स्थानीय खेलाडिलाई मात्रै सहभागी गराईने आयोजक समितीले पत्रकार भेटघाटमा जानकरी दिएको छ ।
प्रतियोगिताको विजेताले नगद तीन लाख, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा द्धितिय पुरस्कार नगद २ लाख, कप, मेडल र प्रमाणपत्र रहेको छ भने सेमिफाइनल पुग्ने दुई टिमलाई नगद ४०/४० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरीने आयोजक गौलिटार खेलमैदान समिति अध्यक्ष चिलुवालले बताए । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनहि नगद सात हजार पाँच सय र प्रत्येक खेलमा प्लेयर अफ द म्याच घोषणा गरी एकहजार रुपैया पुरस्कार दिईने समेत सो अबसरमा जानकारी गराईएको थियो ।
आगामी माघ १ गते देखी शुरु हुने प्रतियोगितामा पौस २५ गते सम्म टिम दर्ता गर्न सकिने छ । राईनास कप प्रतियोगिता संचालन गर्नको लागी प्रत्येक बर्ष राईनास नगरपालिकाले निति तथा कार्यक्रममा नै समाबेश गरी नगद आठ लाख रुपैया समितीलाई उपलब्ध गराउदै आएको राईनास नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष तथा प्रबत्ता गोबिन्द चिलुवालले जानकारी दिए ।
राईनास नगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ भने खेल संचालनको लागी १७ लाख बराबरको आयव्यय हुने अनुमान गरिएको छ । क्लबका अध्यक्ष चिलुवालको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेल, शाखाका पूर्व अध्यक्षहरु नवराज पहाडी र सन्तोष पौडेल, सल्लाहकार अनुज अधिकारी, उपाध्यक्ष बसन्ता भट्ट लगायत जिल्लामा क्रियाशिल संचारकर्मी र क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति २०८१ पुस ७ गते आइतबार ०५:३६




