काठमाडाैं ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल बार एशोसिएशनसँग आफ्नो कुनै विमति नरहेको स्पष्ट पारेका छन् ।
आईतवार बार दिवसको अवसरमा भक्तपुर जिल्ला अदालत बार एशोसिएशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल बारसँग आफ्नो परिषद्को हैसियतमा पनि कुनै विमति नरहेको बताए । उनले प्रधानन्यायाधीशलाई संविधानले नै निश्चित कामहरु तोकिदिएको उल्लेख गर्दै आफ्नो लागि निश्चित कर्तव्यहरु कानूनले तोकिदिएको जिकिर गरे । बारका लागि आफूले वैधानिक तवरबाट कति सम्बोधन गर्नसकिन्छ भन्ने मात्रै प्रश्न रहेको प्रधानन्यायाधीश राउतको भनाइ थियो ।
उनले बारको अतित गौरवपूर्ण रहेको उल्लेख गर्दै वर्तमान कस्तो छ र वर्तमान परिवेशमा बारको भुमिका, गतिविधि, क्रियाकलाप र कामकारबाही आउने पुस्ताको लागि गौरवपूर्ण हुनसक्छ की सक्दैन भन्ने प्रश्न रहेको उल्लेख गरे । यसबारे बार आफैँले वृहंगम छलफल गर्नुपर्ने उनको तर्क थियो ।
उनले भने, ‘बारसँग मेरो कुनै विमति छैन । परिषद्को हैसियतमा पनि मेरो तपाईंहरुसँग विमति छैन । मलाई निश्चित कामहरु संविधानले तोकिदिएको छ । मेरा निश्चित कर्तव्यहरु कानूनले तोकिदिएको छ । मैले त्यहाँनेर बार हेर्नु पर्दैन । खालि बारको कुरा के हो ? प्रश्न के हो ? जिज्ञासा के हो ? मैले वैधानिकताबाट सम्बोधन गर्नसक्ने ठाउँ कति रहेको छ ? त्यतिसम्ममा मैले के गर्ने हो ? मैले नेतृत्व तहबाट विचार गर्ने हो । म जतिखेर पनि विचार गरी नै हाल्छु । त्यसमा तपाईंहरुले सन्देह लिनै पर्दैन । मैले यसलाई ठूलो कुरा पनि मानेको छैन । यसबाट म विचलित पनि छैन । म परिसान पनि छैन । मलाई यसले डिस्टर्ब पनि गरेको छैन । बारको अतित गौरवपूर्ण छ । वर्तमान कस्तो छ, वर्तमान परिवेशमा बारको भुमिका, गतिविधि, क्रियाकलाप र कामकारबाही आउने पुस्ताको लागि गौरवपूर्ण हुनसक्ला की नसक्ला ? यसको वृहंगम छलफल तपाईंहरु आफैँ गर्नुस् । गौरवपूर्ण यसै हुँदैन है ।’
प्रधानन्यायाधीश राउतले कानून व्यवसायीहरुको पेशालाई मर्यादित र समृद्ध बनाउन आवश्यक रहेको बताए । उनले कानून व्यवसायीहरुले निष्ठालाई कायम राखेर मात्रै निष्पक्ष न्याय दिनसक्ने उल्लेख गरे । पेशा मर्यादित नभएसम्म कानून व्यवसायीहरु सफल हुन नसक्ने उनको भनाइ थियो । उनले न्यायाधीश डराए जनता डराउने र न्यायाधीशले जोखिम लिए नागरिक निश्चिन्त हुने जिकिर गरे ।
प्रकाशित मिति २०८१ पुस ८ गते सोमबार ०३:२४




