पोखरा ।
अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा ‘२३ औं सेन्चुरी ल्होसार मेला’ हुने भएको छ ।
तमु समुदायको महान् पर्व ल्होसार\ल्होछारको अवसरमा सेन्चुरी युवा क्लबले यही पौष ११ गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गर्न लागेको हो ।
संस्कृतिको संरक्षण, खेल तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यसहित विगत लामो समयदेखि ल्होसार मेला सञ्चालन गर्दै आएको क्लबका वरिष्ठ सल्लाहकार राजकुमार गुरुङले जानकारी दिए ।
उनले भने, ‘हामीले विगत लामो समयदेखि ल्होसार मेला गर्दै आएका छौ, यो वर्षपनि पुषको ११ गतेदेखि मेला राखेका छौँ । यसले खेलकुदको विकाससँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौं ।’
उनका अनुसार सो मेलामा मुख्य आकर्षणको रुपमा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता समावेश गरिएको छ ।
पुरुष भलिबल तथा बास्केटबल दुवै प्रतियोगिताको विजेता टिमलाई ८० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
त्यस्तै दोस्रो र तेस्रो हुने टिमले क्रमशः ५० हजार र २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
दुवै खेलमा टिम सहभागिता जनाउन दर्ता शुल्क ५ हजार निर्धारण गरिएको छ ।
मेलालाई थप आकर्षक बनाउन विभिन्न साँस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति २०८१ पुस १० गते बुधबार १०:३७




