युवा खेलाडी साहब आलम पनि समेटिए
एजेन्सी । आगामी शनिबारदेखि राजधानीमा हुने ‘ट्राई नेसन क्रिकेट सिरिज’ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय टोलीमा पहिलो पटक युवा खेलाडी साहब आलम पनि समेटिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मलेसिया र नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्सँग वैशाख ४ मा खेल्ने छ। यस्तै, दोस्रो खेल मलेसियासँग वैशाख ६ मा खेल्ने भएको छ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने छ ।
नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल वैशाख ९ गते खेल्ने भएको छ । लिगमा शीर्ष दुईमा स्थान बनाउन सकेको खण्डमा नेपालले वैशाख ११ गते फाइनल खेल्ने छ ।
ईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमानमा तय भएको प्रतियोगिता स्थगित भए पनि क्यानले मलेसिया र नेदरल्याण्ड्सलाई बोलाएर यो सिरिज गर्न लागेको हो ।
नेपालले एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । नेपालले पछिल्लो समय गतवर्ष माघमा ओमान र अमेरिकासँग आईसीसी विश्वकप लिग–२ अन्तर्गत वानडे त्रिकोणात्मक सिरिज खेलेको थियो ।
प्रतियोगिताका बेला क्यानले दर्शकलाई पनि प्रवेश गराउने भएको छ । क्यानले त्रिकोणात्मक सिरिज हेर्नका लागि प्रवेश मूल्य १ सय ५० रुपैयाँ तोकेको छ ।
त्रिकोणात्मक टी–२० सिरिजका लागि नेदरल्यान्ड्स र मलेसियाको क्रिकेट टिम मंगलबार नेपाल आइसकेका छन् ।
सिरिजका सम्पूर्ण खेलहरु विभिन्न टेलिभिजन र च्यानलको माध्यमबाट विश्वका १ सय ४१ देशबाट लाइभ हेर्न सकिने क्यानले जनाएको छ ।
मुख्य प्रशिक्षक डेभ वाट्मोरको पहिलो प्रतियोगितासमेत रहेको यो सिरिजका लागि नेपालको अन्तिम टोली यस्तो छ
१. ज्ञानेन्द्र मल्ल २. दीपेन्द्रसिंह ऐरी (उपकप्तान) ३. पारस खड्का ४. विनोद भण्डारी ५. सोमपाल कामी ६. करण केसी ७. सन्दीप लामिछाने
८. अविनाश बोहरा ९. आरिफ शेख १०. आशिफ शेख ११. कुशल भूर्तेल १२. कुशल मल्ल १३. साहब आलम १४. कमलसिंह ऐरी १५. शुषन भारी




