पाेखरा ।
पाेखराकाे चर्चित ब्याण्ड कन्दराले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो बिहानीको कोसेलीको रूपमा नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक गरेको छ ।
म्युजिक भिडियाे प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।
गीत राष्ट्रभक्तहरूका लागि विशेष सान्दर्भिक छ । यसले देशप्रतिको प्रेम, राष्ट्रिय एकता र समृद्ध नेपालको सपनालाई जीवन्त राख्न, हामीलाई आशा, एकता, परिवर्तन, साहस र त्यागका मूल्यहरूलाई आत्मसात् गर्न, सामना गरिरहेका कठिन परिस्थितिहरू, नकारात्मक सोच र अन्धकारलाई पछाडि छोडेर उज्यालो भविष्यको सपना देख्न यो गीतले प्रेरित गर्छ ।
गीत सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले गीतको प्रशंसा गरेकाे गायक श्रेष्ठले बताएका छन् ।
‘हुनेछ: द सङ्ग अफ होप’मा शब्द तथा सङ्गीत ब्याण्डका ड्रम वादक सुनिल थापाको रहेको छ । गीतको भिडियो निर्देशन र कथा केदार भुसालले तयार पारेका हुन् ।
सेटमा क्यामेरा सञ्चालन नवीन थापा र दीपेश केसीले गरेका छन् भने मोन्टाज र बी-रोल्समा यज्ञ ज्ञानवाली र दीपेश केसीको सहयोग रहेको छ । सम्पादन मधु सन्जेलले गरेका छन् भने भीएफएक्स बम बहादुर थापाले गरेका छन् ।
गिटार, मिक्सिङ, र मास्टरिङ देव लामाले गरेका छन्, बासमा पङ्कज झा, किबोर्डमा उमेश थापा, र पर्कसनमा अविनाश गायकले योगदान दिएका छन् । गीतको एरेन्ज र गिटार वर्क हरि महर्जनले गरेका छन् । गीतको निर्माणमा रेडियो नेपाल, स्टुडियो प्रोजेक्ट प्रोडक्सन, र डिएलसी जस्ता प्रतिष्ठित स्टुडियोले सहकार्य गरेका छन् । कला निर्देशन सन्तोष देवकोटा र पोस्टर र प्रचारप्रसार रोयल भीमसेनले तयार पारेका छन् ।
कन्दरा ब्याण्डका ‘लेककी हे माया’, ‘बिदेसिएर गइन् उनी’, ‘चञ्चले कान्छीको’, ‘भेडी गोठैमा’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ र ‘बिचरा म’ जस्ता गीतहरू नेपाली सङ्गीतमा बहुचर्चित छन् ।
प्रकाशित मिति २०८१ पुस १९ गते शुक्रबार ०४:१६




