काठमाडौं ।
नेपाल रग्बी संघले वर्ष २०२४ को उत्कृष्ट खेलाडीको रूपमा महिलामा सिर्जना राई र पुरुषमा रोहन डंगोल पुरस्कृत गरेको छ ।
काठमाडौंमा शनिबार भएको आफ्नो १२औं वार्षिक साधारण सभाको अवसरमा संघले सिर्जनालाई वर्ष उत्कृष्ट महिला र रोहनलाई वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव टंकलाल घिसिङ, राखेपकी बोर्ड सदस्य अन्जना श्रेष्ठ मास्के, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्दबहादुर घिमिरेलगायतले सम्मान गरेका हुन् ।
उक्त साधारणसभाको राखेपका सदस्यसचिव घिसिङले उद्घाटन गरेका थिए । सो अवसरमा घिसिङले रग्बी खेलको विकासका लागि योगदान गर्ने खेलाडी, प्रशिक्षक र नेतृत्वलाई धन्यवाद दिँदै प्रंशसा गरेका थिए ।
उनले पछिल्ला १२ वर्षसम्म संघले विभिन्न आरोह अवरोह पार गरेको उल्लेख गर्दै विभिन्न समितिलाई परिणाममूखी बनाउन सुझाव दिए ।
घिसिङले पदमा बसेर काम गर्न नसक्ने कमिटीलाई निर्वाचन प्रक्रियामा लैजान निर्देशन पनि दिए ।
उनले राष्ट्रिय खेलकुद परिषद्मा विभिन्न चुनौती पार गर्दै दशौं राष्ट्रिय खेलकुद आयोजना गरेर छाड्ने पनि बताएका छन् ।
उक्त साधारणसभामा विभिन्न जिल्ला, प्रदेश र संघका विभिन्न समितिले आफ्नो प्रगतिविवरण र आगामी कार्ययोजना प्रश्तुत गरेका थिए ।
संघले पनि आगामी वर्षको कार्यप्रगति र आगामी वर्षको योजनाहरू प्रस्तुत गरेको थियो ।
प्रकाशित मिति २०८१ पुस २१ गते आइतबार ०९:३२




