२०८३ साउन २१ गते बिहीबार

नेपालमा डिजिटल साक्षरताको प्रवर्धनः अवस्था, चुनौती र समाधान

नेपालमा डिजिटल साक्षरताको प्रवर्धनः अवस्था, चुनौती र समाधान

अंशु गिरी

@Public 4K Tv

२०८१ पुस २१ गते आइतबार ०५:२५

विभिन्न शोधकर्ता, डाटा रिपोर्ट तथा नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको रिपोर्ट अनुसार सामान्य साक्षरता दर ७६.३५ प्रतिशत, वित्तीय साक्षरता करिब ५७.९५ प्रतिशत र डिजिटल साक्षरता करिब ३१.५ प्रतिशत रहेको पाइन्छ ।

पाेखरा ।

साक्षरता भनेको पढ्न, लेख्न र बुझेको कुरा व्यक्त गर्न सक्ने क्षमताको अवस्था हो । यसको अर्थ केवल अक्षर र शब्दहरू पढ्न सक्ने कुरा मात्रै होइन, ती शब्दहरूलाई बुझ्न र तिनीहरूको अर्थ बुझाउन पनि सक्षम हुनु हो । संक्षेपमा, साक्षरता भनेको ज्ञान र सूचनाको पहुँच र तिनीहरूलाई उपयोग गर्ने क्षमता हो । डिजिटल साक्षरता भनेको कम्प्युटर, इन्टरनेट र डिजिटल उपकरणको प्रभावकारी र सुरक्षित प्रयोग गर्ने क्षमता हो ।

आजको युगलाई डिजिटल युगको रूपमा चिनिन्छ, जहाँ प्रत्येक दिन अत्याधुनिक प्रविधिको प्रयोगले विभिन्न कार्यहरू गरिन्छ । डिजिटल प्रविधिको प्रयोगले हाम्रो जीवनको हरेक पक्षमा गहिरो परिवर्तन ल्याएको छ । उदाहरणका लागि बैंकिङ्ग कारोबारलाई सहज र सुगम बनाउँदै जनचेतनामूलक सञ्चार र सूचनाको आदानप्रदानलाई तीव्र र प्रभावकारी, शिक्षा र अध्ययनमा नवीनता र विकास प्रदान, व्यापार व्यवसायमा वृद्धि तथा स्वास्थ्य र मनोरञ्जनात्मक गतिविधिमा सुधार गर्दै डिजिटल शिक्षा अनिवार्य भइसकेको छ । यस लेखमा डिजिटल साक्षरताको आवश्यकता, नेपालमा डिजिटल साक्षरताको वर्तमान अवस्था, डिजिटल साक्षरता प्रवर्धनमा देखिएका चुनौतीहरू र डिजिटल साक्षरताको प्रवर्धनका उपायसम्बन्धी विस्तुत विश्लेषण गरिएको छ ।

डिजिटल साक्षरताको अवस्था

नेपालमा डिजिटल साक्षरताको अवस्था अन्य विकासशील देशहरूसँग तुलना गर्दा अपेक्षाकृत न्यून स्तरको रहेको पाइएता पनि हालैको तथ्याङ्क हेर्दा यो क्षेत्रमा उल्लेखनीय सुधार भएको देखिन्छ । विभिन्न शोधकर्ता, डाटा रिपोर्ट तथा नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको (डिसेम्बर २०२३) रिपोर्ट अनुसार सामान्य साक्षरता दर ७६.३५ प्रतिशत, वित्तीय साक्षरता करिब ५७.९५ प्रतिशत र डिजिटल साक्षरता करिब ३१.५ प्रतिशत रहेको पाइन्छ । कोभिड–१९ महामारीपछि डिजिटल प्रोडक्टहरू र सेवाको प्रयोगकर्ता सङ्ख्या वृद्धि भएको देखिएको छ, भने विभिन्न वित्तीय प्रोडक्ट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग प्रयोग गर्ने वृद्धिदर क्रमशः १४.४५ प्रतिशत र ३४.३५ प्रतिशत रहेको छ । त्यसैगरी, इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या १५.४० मिलियनको हाराहारीमा पुगेको छ। विभिन्न सामाजिक सञ्जालमध्ये फेसबुक बढी प्रयोग हुने र यसको प्रयोगकर्ता सङ्ख्या १३.५० मिलियन रहेको छ, जसले एक वर्षको अवधिमा करिब १४५ प्रतिशतको वृद्धि देखाएको छ ।

डिजिटल साक्षरताको प्रवद्र्धन तथा विकास गर्नका लागि नेपालले डिजिटल नेपाल फ्रेमवर्क २०१९ लागू गरेको छ । जसले शिक्षा, स्वास्थ्य, कृषि लगायत प्राथमिक क्षेत्रहरूमा डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ । विद्यालय र कलेजहरूमा आइसिटी कोर्सहरूको व्यवस्था गरी सूचना प्रविधिको ज्ञान प्रदान गर्न जोड दिइएको छ । १६ औँ योजनाले अघि सारेको सूचना प्रविधियुक्त राष्ट्र निर्माणको सोच अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्य योजना तर्जुमा गरी कार्यान्वयन गरिरहेको छ। यसैगरी, नेपाल सरकारले आ.व २०८१÷८२ को नीति तथा कार्यक्रम बजेट वक्तव्यमा आगामी दशकलाई सूचना प्रविधिको दशकको रूपमा अघि बढाउने लक्ष्य राखेको छ ।

यस प्रकार नेपालमा डिजिटल साक्षरताको अवस्था सुधार गर्न विभिन्न नीति तथा कार्यक्रमहरू लागू गरिएका छन् । जसले देशलाई डिजिटल युगमा अग्रसर बनाउँदै छन् । यसका साथसाथै, जनचेतना कार्यक्रम, प्रशिक्षण तथा क्षमता विकासका प्रयासहरूमार्फत डिजिटल साक्षरताको स्तरलाई अझ उकास्न आवश्यक छ । डिजिटल प्रविधिको व्यापक प्रयोगले आर्थिक, सामाजिक, र शैक्षिक क्षेत्रमा ठूलो प्रभाव पार्नेछ, जसले नेपालको समग्र विकासमा योगदान पुर्याउनेछ ।

डिजिटल साक्षरता प्रवर्धनका चुनौतीहरु

नेपालमा डिजिटल साक्षरताको प्रवर्धन एक अत्यावश्यक आवश्यकता भएता पनि यसका लागि थुप्रै चुनौतीहरू छन् । यी चुनौतीहरू विविध प्रकारका छन् र जसले नेपालको डिजिटल प्रगतिको मार्गमा बाधा पु¥याउँदै आएका छन् । विभिन्न चुनौतीको विश्लेषण गर्दा निम्न प्रमुख पक्षहरू उठ्छन् ।

१) भौगोलिक चुनौती
नेपालको भौगोलिक संरचना नै डिजिटल साक्षरताको प्रवर्धनको एउटा मुख्य बाधक हो । हिमाली र पहाडी क्षेत्रहरूमा इन्टरनेट सेवा तथा डिजिटल उपकरणहरूको पहुँच पाउन कठिनाई हुन्छ । यसले ग्रामीण तथा दुर्गम क्षेत्रका जनताले डिजिटल प्रविधिको फाइदा उठाउन असक्षम बनाउँछ ।

२)आर्थिक चुनौती
नेपालको आर्थिक अवस्था पनि डिजिटल साक्षरताको प्रवर्धनमा महत्वपूर्ण चुनौती हो । प्रविधि तथा डिजिटल उपकरणहरूको उच्च लागतका कारण धेरै मानिसहरूको पहुँचभन्दा बाहिर छ। विशेषगरी निम्न आय भएका परिवारहरूका लागि कम्प्युटर, स्मार्टफोन, र इन्टरनेट सेवाहरूमा लगानी गर्न गाह्रो हुन्छ ।

३) शैक्षिक चुनौती
डिजिटल साक्षरताको क्षेत्रमा प्रशिक्षित शिक्षकहरूको अभाव छ । धेरै विद्यालयहरूमा आईसीटी (सूचना तथा सञ्चार प्रविधि) को शिक्षाको व्यवस्था गरिएको भए पनि प्रशिक्षित शिक्षकहरूको कमीले प्रभावकारी शिक्षण सम्भव छैन । साथै, पाठ्यक्रममा डिजिटल साक्षरताको पर्याप्त समावेशीकरणको अभाव पनि छ ।

४)प्राविधिक चुनौती
नेपालमा इन्टरनेट सेवाको गुणस्तर र गति पर्याप्त छैन । इन्टरनेटको अवरोध, ब्यान्डविड्थको कमी, र डेटा सेवा शुल्क उच्च भएकोले आम जनताले गुणस्तरीय इन्टरनेट सेवा पाउन कठिनाई अनुभव गर्छन् । यसले डिजिटल शिक्षामा बाधा पु¥याउँछ ।

५) कानुनी र नीतिगत चुनौती
नेपालमा डिजिटल साक्षरतासम्बन्धी स्पष्ट नीति र कानुनको अभाव छ। यद्यपि केही नीति तर्जुमा गरिएका छन् । तिनीहरूको कार्यान्वयनमा कमजोरी छ । डिजिटल साक्षरताको प्रवर्धनका लागि प्रभावकारी नीति र कार्यान्वयन प्रणालीको अभावले समस्या उत्पन्न गर्छ ।

६) सामाजिक चुनौती
डिजिटल साक्षरतामा लैंगिक असमानता पनि एक प्रमुख चुनौती हो । महिलाहरू र ग्रामीण क्षेत्रका जनताको डिजिटल उपकरण र सेवामा पहुँच पुरुषहरू र शहरी क्षेत्रका जनताभन्दा कम छ। यसले डिजिटल विभाजनलाई अझ गहिरो बनाउँछ ।

७) सांस्कृतिक चुनौती
नेपालमा केही समुदायहरूमा डिजिटल प्रविधिको प्रयोगप्रति अनिच्छा र डर रहेको पाइन्छ । परम्परागत मान्यताले डिजिटल शिक्षाको स्वीकार्यतालाई कम गर्छ। साथै, पुराना सोचले नयाँ प्रविधिलाई अवरोध गर्दछ ।

८)संरचनागत चुनौती

नेपालमा आधारभूत डिजिटल संरचना, जस्तै इन्टरनेट कनेक्टिविटी, पावर सप्लाई, र डिजिटल उपकरणहरूको आपूर्ति पर्याप्त छैन । ग्रामीण क्षेत्रहरूमा यी आधारभूत संरचनाको अभावले डिजिटल साक्षरताको प्रवर्धनमा अवरोध ल्याउँछ ।

९) प्रशासनिक चुनौती
डिजिटल साक्षरताको प्रवर्धनका लागि विभिन्न सरकारी निकाय र संघसंस्थाबीचको समन्वय र सहकार्यको कमी एक ठूलो चुनौती हो । प्रशासनिक ढिलासुस्ती र प्रक्रियागत जटिलताले डिजिटल साक्षरताका कार्यक्रमहरूको प्रभावकारिता घटाउँछ ।

१०) जनचेतना अभाव
डिजिटल साक्षरताका महत्त्व र फाइदाबारे जनचेतनाको कमी पनि एउटा ठूलो चुनौती हो । धेरै जनताले डिजिटल शिक्षाको महत्त्व नबुझ्दा डिजिटल प्रविधिको प्रयोग गर्न अनिच्छुक देखिन्छन् । जनचेतना अभावले डिजिटल साक्षरताका कार्यक्रमहरूलाई सफल बनाउन गाह्रो बनाउँछ ।

यसरी नेपालमा डिजिटल साक्षरताको प्रवर्धनमा विविध प्रकारका चुनौतीहरू छन् । जसले नेपालको डिजिटल प्रगतिको मार्गमा अवरोध पुर्याउँछन् । यी चुनौतीलाई सम्बोधन नगरेसम्म डिजिटल साक्षरताको स्तरमा सुधार ल्याउन कठिनाई हुने देखिन्छ ।

नेपालमा डिजिटल साक्षरताको प्रवर्धनको समाधान

१)भौगोलिक बाधा समाधान
नेपालको भौगोलिक विविधतालाई ध्यानमा राख्दै, पहाडी र हिमाली क्षेत्रहरूमा इन्टरनेट पहुँच पुर्याउनका लागि विशेष पहल आवश्यक छ । इन्टरनेट सेवा प्रदायकहरूले ग्रामीण र दुर्गम क्षेत्रहरूमा आफ्ना सेवाहरू विस्तार गर्नुपर्ने हुन्छ ।

२)आर्थिक उपाय
डिजिटल उपकरणहरूको लागत घटाउनका लागि सरकारी अनुदान, सहुलियतपूर्ण ऋण, तथा सार्वजनिक–निजी साझेदारीको माध्यमबाट सहुलियतपूर्ण मूल्यमा कम्प्युटर र स्मार्टफोनको उपलब्धता सुनिश्चित गर्नुपर्छ । आर्थिक रूपमा कमजोर परिवारहरूलाई डिजिटल उपकरणहरूमा पहुँच दिन विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।

३) शैक्षिक उपाय
शिक्षक प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरेर डिजिटल साक्षरतामा दक्ष शिक्षकहरूको आपूर्ति सुनिश्चित गर्नुपर्छ । विद्यालय र कलेजहरूको पाठ्यक्रममा डिजिटल साक्षरताको विषयवस्तु समावेश गरी आईसीटी शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ । डिजिटल शिक्षा प्रवर्धनका लागि अनलाइन पाठ्यक्रमहरू र शिक्षण सामग्रीहरू तयार गर्नुपर्छ ।

४) प्राविधिक सुधार
इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न र उच्च गति प्रदान गर्न इन्टरनेट सेवा प्रदायकहरूले आफ्नो पूर्वाधार सुधार गर्नुपर्ने हुन्छ । ग्रामीण क्षेत्रहरूमा इन्टरनेट कनेक्टिविटी सुधार गर्न विशेष ध्यान दिनुपर्छ । डेटा सेवा शुल्क घटाउन प्रोत्साहन कार्यक्रमहरू ल्याउन सकिन्छ ।

५) कानुनी र नीतिगत सुधार
डिजिटल साक्षरताको प्रवर्धनका लागि स्पष्ट र प्रभावकारी नीति तथा कानुनको निर्माण आवश्यक छ । नीतिहरूको कार्यान्वयन र निगरानीमा सशक्त प्रणालीको विकास गरी प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्छ । डिजिटल साक्षरताको महत्वलाई कानुनी रूपमा सुरक्षित गर्नुपर्ने हुन्छ ।

६) सामाजिक सुधार
लैंगिक समानता प्रवर्धनका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । जसले महिलाहरू र ग्रामीण क्षेत्रका जनतालाई डिजिटल उपकरण र सेवामा पहुँच प्रदान गर्न मद्दत गर्छ । समाजमा डिजिटल साक्षरताको महत्वबारे जनचेतना फैलाउन व्यापक अभियानहरू सञ्चालन गर्नुपर्छ ।

७) सांस्कृतिक परिवर्तन
परम्परागत मान्यतालाई परिवर्तन गर्न समुदायस्तरमा जनचेतना कार्यक्रम र तालिमहरू सञ्चालन गर्नुपर्छ । डिजिटल प्रविधिको फाइदा र सुरक्षित प्रयोगबारे जनतालाई जानकारी दिनुपर्छ ।

८) संरचनागत सुधार
नेपालमा आधारभूत डिजिटल संरचनाको विकास गर्न सरकार र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक छ । पावर सप्लाई, इन्टरनेट कनेक्टिविटी, र डिजिटल उपकरणहरूको आपूर्ति सुनिश्चित गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।

९) प्रशासनिक सुधार
विभिन्न सरकारी निकाय र संघसंस्थाबीचको समन्वय र सहकार्य सुधार गर्न प्रोत्साहित गर्नुपर्छ । प्रशासनिक प्रक्रियाहरूलाई सहज र छरितो बनाइ कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउनुपर्छ ।

१०)जनचेतना कार्यक्रम
डिजिटल साक्षरताको महत्व र फाइदाबारे जनचेतना फैलाउन व्यापक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । डिजिटल प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगबारे जानकारी दिन तालिम तथा कार्यशालाहरू सञ्चालन गर्नुपर्छ ।

यी समाधानहरूले नेपालमा डिजिटल साक्षरताको प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउन सक्छन् । सबै पक्षहरूको समन्वय र सहकार्यले मात्र डिजिटल साक्षरताको लक्ष्य प्राप्त गर्न सकिन्छ।

निष्कर्षः डिजिटल साक्षरता कुनै पनि राष्ट्रको सर्वाङ्गीण विकासको आधारस्तम्भ हो, जसले शिक्षाको नयाँ आयामको सीमाभन्दा बाहिर गएर आर्थिक, सामाजिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रको समग्र विकासको आधारशिला स्थापित गर्दछ । नेपालको सन्दर्भमा, डिजिटल प्रविधिले ल्याउने चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै समस्या समाधान गर्न र डिजिटल साक्षरताको प्रवर्धन गर्न प्रभावकारी नीति, रणनीति र कार्यान्वयन योग्य कार्ययोजना आवश्यक छ ।

सरकारी, गैरसरकारी, र निजी क्षेत्रका सरोकारवालाहरूले स्थानिय तहदेखि केन्द्रीय तहसम्म, ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म, बच्चादेखि वृद्धसम्म, डिजिटल प्रविधिको प्रयोग र यसको महत्त्वबारे जनचेतना कार्यक्रमहरूको आयोजना गर्नुपर्ने देखिन्छ ।

यस्तो पहलबाट प्रत्येक नागरिकले डिजिटल युगको अवसरलाई उपयोग गर्दै नेपालको समग्र डिजिटल विकास र प्रवर्धनमा ठोस योगदान पुर्याउन सक्षम हुनेछन् । यस प्रकार, डिजिटल साक्षरताले नयाँ युगको अवसरहरूलाई आत्मसात् गरी समग्र राष्ट्रको प्रगतिको मार्गलाई सुगम बनाउँछ ।

प्रकाशित मिति २०८१ पुस २१ गते आइतबार ०५:२५
हजुरको प्रतिक्रिया