पोखरा ।
पोखरामा पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा सुरु भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको प्रतियोगिताको पहिलो दिन २ खेल पूरा हुँदा एक खेल भने स्थगित भएको छ । पहिलो दिन शसस्त्र प्रहरी बल (एपिएफ) र टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब विजयी हुँदा आयोजक र त्रिभुवन आर्मी बिचको खेल स्थगित भएको हो ।
पहिलो खेलमा एपिएफले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डमाथि ३–२ सेटको पुनरागमन जित दर्ता ग¥यो । पहिला दुई सेट गुमाएको एपिएफले पछिल्ला तिन सेटमा जित निकाल्दै खेल आफ्नो पक्षमा पा¥यो ।
दोस्रो खेलमा न्यू डायमन्डले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित ग¥यो । रोमाञ्चक खेलमा न्यू डायमन्डले पाँचौं सेटमा १५–१० ले आफ्नो पक्षमा पार्दै विजयी सुरुआत गरेको हो । पहिलो दिनको अन्तिम खेल भने खराब प्रकाशका कारण स्थगित हुन पुग्यो । तेस्रो सेटको खेल सकिँदा भिजिबिलिटी कम हुँदा स्थगित भएको हो ।
पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५–२१ ले जित हासिल ग¥यो । त्यसपछि रेफ्रि टहलसिंह थापाले दुई टोलीका कप्तानसँग छलफल गरी खेल स्थगित गरेका हुन् ।
उक्त खेल आइतबार बिहान ९ बजेबाट सुरु हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उक्त खेलपछि पुरुषतर्फका ३ खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिमबिच हुनेछ । दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ ।
तेस्रो खेल शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति २०८१ माघ १२ गते शनिबार ०७:१६




