गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे) नियुक्त भएका छन्।
बुधबार प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुन नसकेपछि मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गर्दै उनलाई प्रदेशमन्त्री बनाएका हुन् ।
राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अवस्था बेपत्ता भएको भन्दै बुधबारको प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित भएको छ । यही मौकामा मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
वैशाख २ गते संसद सचिवालयमा दर्ता अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका हुन्। १२ सांसद रहेको माओवादीबाट १ जनचाहिँ सभामुख छन्। ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाको पार्टी केन्द्रले आफ्ना सांसदलाई अविश्वासको पक्षमा मतदान गर्न निर्देशन गरेको छ।
गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेश सभामा टेबुल भएको थियो। प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल गरेका थिए।
२०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए। तत्कालीन एमालेको समर्थनमा उनले मनाङको प्रदेश (ख)बाट निर्वाचन जितेका थिए।
प्रकाशित मिति २०७८ वैशाख १६ गते बिहीबार ०५:३२




