नेपालमा भएका १० वटा रामसार क्षेत्रकै उचित व्यवस्थापन र पर्याप्त संरक्षण हुन नसकेको समयमा अन्य स-साना सिमसार क्षेत्रकाे संरक्षण बारे कुरा उठ्नु धेरैले अनौठो ठान्छन् । तर यो आश्चर्यजनक कुरा नभई अपरिहार्य कुरा भइसक्यो आज ५४ औँ विश्व सिमसार दिवस मनाइरहँदा नेपालमा भएका सबै प्राकृतिक र मानव निर्मित सिमसार क्षेत्रकाे समग्र तथ्याङ्क आजका दिनसम्म पनि कहीँकतै व्यवस्थित रूपमा दस्तावेजीकरण गरिएको पाइँदैन। कतै २४० भन्दा बढी संख्यामा सिमसार क्षेत्र छ्न् भनिए पनि त्यसको आधिकारिकता भने कतै फेला पर्दैन ।
जलमय वनस्पतिकाे उपस्थितिलाई समर्थन गर्ने र जलमय माटोकाे अवस्था सिर्जना गर्ने सबै क्षेत्र सिमसार क्षेत्र हुन् यसर्थ, वर्षभरि सिमसार क्षेत्र पानीले तृप्त भएको हुनैपर्छ भन्ने हुँदैन ।यस्ता क्षेत्रमा थुप्रै प्रजातिका चराचुरूङ्गी , बोटबिरुवा र जीवजन्तुहरू निर्भर रहन्छन्। किसानलाई सिँचाइका निम्ति पनि सिमसारको ठूलो सहयोग रहन्छ ।
जैविक विविधताका दृष्टिकोणले र साथसाथै सामाजिक-सांस्कृतिक र धार्मिक मूल्य मान्यताका हिसाबले अति महत्त्वपुर्ण हुँदा हुँदै पनि हाम्रा वरपर रहेका स-साना सिमसार क्षेत्रहरू संरक्षणका लागि प्राथमिकतामा नपर्नु दु:खद कुरा हो ।
सिमसार क्षेत्र र यसको सतहमा रहेको पानीले बाढी ल्याउँछ भन्ने आमगुनासो हाम्रो समाजमा प्रचलित छ तर यसको वास्तविकता भने ठ्याक्कै उल्टो हो।
सिमसार क्षेत्रले “प्राकृतिक स्पन्ज” (natural sponge) जस्तै कार्य गर्छन् अर्थात् अतिरिक्त वर्षा र पानीको बहावलाई सोस्ने र भण्डारण गर्ने क्षमता राख्छन्। जसकारण ,भण्डारित पानीलाई यस्ता क्षेत्रले बिस्तारै बाहिर निकाल्ने हुँदा सुक्खा मौसममा नदीहरूमा निरन्तर बहाव कायम राख्न सहयोग पुग्छ।
माटोले पुरेर कृषि प्रयोजनका निम्ति उपयोग गर्ने, प्लटिङ गरी बस्ती विस्तार गर्ने , सिमसार क्षेत्रकाे पानीको निकास गरी पूर्वाधार निर्माण गर्ने, प्रदूषित पार्ने जस्ता मानवीय दोहनले आज साना- साना सिमसार क्षेत्रहरू हराउँदै छ्न् ।
जसको ज्वलन्त उदाहरण हो, कास्कीको हेम्जामा रहेको सिमसार क्षेत्र जहाँ ऐले उल्लेखिय मानवीय दोहनका कारण त्यहाँ वर्षातको समयमा पानी सोस्ने सिमसार क्षेत्र मेटिँदा हरेक वर्ष बाढीले बस्ती डुबाउने गरेको छ।सिमसार क्षेत्रकाे विनाशका कारण यस्ता प्रकोपले दुःख दिएको हो भन्ने कुरामा त्यहाँकाे जनसमुदाय बेखवर छ। यो त्यस क्षेत्रकाे मात्र समस्या नभएर देशका अधिकांश साना सिमसार क्षेत्रकाे स्थिति यही नै हो।
नेपालमा साना सिमसार क्षेत्रहरू ओझेलमा पर्नुकाे प्रमुख कारण भनेकै देशभरि कहाँ – कहाँ, कति संख्यामा साना सिमसार क्षेत्रहरू रहेका छ्न् भन्ने तथ्याङ्क नहुनु र यसको अनुगमन गर्ने निश्चित निकाय नहुनु नै हो ।
हामीसँग कृषि भूमि, पानीका स्रोतहरु, बस्ती निर्मित क्षेत्र लगायतका भूमि उपयोग (land use) सम्बन्धी डेटा संकलन र प्रकाशन गर्न उन्नत प्रणाली उपलब्ध छैन। त्यसकारण पनि कुन र कस्तो ठाउँमा घर बनाउने, कुन ठाउँमा खेतीपाती मात्र गर्ने र कुन ठाउँलाई संरक्षण क्षेत्रका रूपमा सुरक्षा गर्ने भन्ने कुराको जानकारी हामीले कतै लिन खोज्यौँ भने पनि पाउँदैनौँ ।
कुनै निकाय स्थापना गरी वा भएका विभाग र सरोकारवाला निकाय र स्थानिय बिच समन्वय भई कम्तीमा हरेक सिमसार क्षेत्रकाे वरपर एउटा “बफर जोन” बनाएर सो क्षेत्रमा सिमसार क्षेत्रमा ह्रास आउन सक्ने कुनै पनि क्रियाकलापहरू हुन/गराउन दिनु हुँदैन। युगाण्डा जस्तो मुलुकले पनि कृषि भूमि र जलभूमिकाे संरक्षण र व्यवस्थापनका निम्ति बफर जोन बनाएरै काम गरिरहेको छ जुन प्रभावकारी पनि ठहरिएको छ।
यस्ता साना सिमसार क्षेत्रहरूकाे स्थिति, क्षति आदिको बारेमा अभिलेख राख्न सम्बन्धित ठाउँमा नागरीक वैज्ञानिकहरु खटाएर पनि यसको सुरक्षाका लागि कदम चाल्न सकिन्छ ।
रामसार क्षेत्र बाहेकका अन्य अधिकांश स-साना सिमसार क्षेत्रहरू कुनै न कुनै व्यक्तिको व्यक्तिगत स्वामित्वमा पर्दछन्।
यसर्थ , कुनै पनि व्यक्तिले आफ्नो एकाधिकार भित्र पर्ने सिमसार क्षेत्रकाे क्षति गर्यो भने उसलाई कारबाहीको दायरामा ल्याउन गार्हो छ। व्यक्ति स्वयेम् सचेत भई आफ्नो एकाधिकार भित्र पर्ने त्यस्ता सिमसार क्षेत्रहरुमा ह्रास आउन नदिने हो भने त ठिकै नै हुन्थ्यो तर आजसम्म यही हुन नसकेकाले स्थानीय तह र विभिन्न संरक्षणमुखी संघसंस्थाको अब भने उपस्थिति र पहलको आवश्यकता ठानिएको हो।स्थानीय निकाय आँफैले भूमिवालाहरुलाई करमुक्त अनुदान वा सार्वजनिक पुरस्कार प्रदान गरेर उनीहरूको संरक्षण प्रयासको लागि आर्थिक प्रोत्साहनका कार्यक्रमहरू सुरु गर्न सक्छन्।
वित्तीय सहायता, प्राविधिक सहयोग र कानूनी समर्थनका लागि पनि विभिन्न कार्यक्रमहरुको आयोजना गर्न सकिन्छ।भूमिवाल र संरक्षणविद् बीच समय- समयमा सिमसार क्षेत्रकाे संरक्षणसँग सम्बन्धित रहेर छलफल वा वार्ता गराइदिन स्थानीय सरकार सक्रिय हुनपर्छ।
यसमा ढिलाइ गर्न हुँदैन र अन्त्यमा ,रामसार क्षेत्र मात्र सिमसार क्षेत्र हुन् भनेर व्याख्या गर्दा साना- साना सिमसार क्षेत्रकाे अस्तित्व हराउने गरेको छ ।हामीले रामसार क्षेत्रलाई जसरी महत्वपूर्ण र विशेष दृष्टिकोणका साथ हेर्छौं, त्यही दृष्टिकोण अन्य स-साना सिमसार क्षेत्रहरुमा पनि हाम्रो भइदियो भने यसको पारिस्थितिक प्रणाली सधैँ जोगिनेछ।
– सिद्दार्थ सापकोटा वातावरण विज्ञानका विद्यार्थी हुन् ।
प्रकाशित मिति २०८१ माघ २० गते आइतबार ०३:३३




