मिर्गौला रोगीहरुको संख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौति बढ्दो
काठमाडौं
नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको छ ।
शुक्रवार एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डायलासिस सेवाको शुभारम्भ गरेका हुन् ।
उपप्रधानमन्त्री पौडेलले स्वस्थ खानपानको अभाव र प्रदुषण लगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको संख्या बढिरहेको बताए ।
उनले मिर्गौला रोगीहरुको संख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौति थपिएको जिकिर गरे । मिर्गौला रोगीहरु बढिरहेको अवस्थामा यस अवस्थालाई मध्यनजर गरेर नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गर्नु सुखद् रहेको उल्लेख गरे ।
सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको उनको भनाइ थियो ।
उनले भने ‘अहिले हाम्रोमा स्वस्थ खानपानको अभाव, प्रदुषण लगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको संख्या प्रतिदिन बढिरहेको छ । हाम्रो स्वास्थ्य व्यवस्थापनका सामुन्नेमा एउटा नयाँ चुनौतिको रुपमा उपस्थित भएको छ । यस्तो अवस्थामा मिर्गौला रोगीहरुको उपचारलाई केन्द्र भागमा राखेर सेवा बिस्तार गर्नुपर्ने आजको आवश्यकता छ । सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल भएको छ । नेपाल नेशनल हस्पिटलले जुन ढंगले डायलसिस सेवा शुरु गरेको छ । त्यसको लागि अस्पताल परिवारप्रति बधाई भन्न चाहन्छु ।’
त्यस्तै, नेपाल नेशनल अस्पतालका आइसियु विज्ञ तथा निर्देशक डा. प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको बताए ।
उनले हरेक १६ जना जिकिर गरे । उनले यही अवस्थालाई मध्यनजर गरेर अस्पतालले कलंकी क्षेत्रमा मिर्गौला रोगीका लागि डायलासिस सेवाको शुभारम्भ गरेको जानकारी दिए ।
उनले भने ‘नेपालमा अहिले मिर्गौला रोगीको अवस्था अत्यन्त भयावह देखिएको छ । अहिलेको नेपालको स्थितिमा हेर्दा १६ जना वयस्क व्यक्तिमा एक जना मिर्गौला रोगी देखिने अवस्था आएको छ । १६ व्यक्तिमा एक जनालाई मिर्गौलाको समस्या देखिनु भनेको ठूलो हो । कलंकी क्षेत्रमा सुविधा सम्पन्न डायलसिस सेवा होस् र मिर्गौला रोगीलाई सुविधा होस् भनेर यो सेवा शुरु गरेका छौँ । एक पटक मिर्गौला रोगी भएर डायलसिस सेवामा जानुपरेपछि बिरामीलाई अत्यन्त गाह्रो हुन्छ । औषधिको खर्च पनि अत्यन्त ज्यादा छ । परिवारमा एक जना मिर्गौलाको बिरामी भएको खण्डमा सम्पूर्ण परिवार नै पीडित हुने अवस्था रहन्छ ।’
प्रकाशित मिति २०८१ माघ २५ गते शुक्रबार ११:४०




