काठमाडौँ ।
संसदीय सुनुवाई विशेष समितिले प्रश्तावित राजदुतहरूविरुद्ध परेका उजुरीहरूको सुनुवाई प्रक्रिया अघि बढाउन खोज्दा उजुरीकर्ताहरूको अनुपस्थितिले चुनौती थपेको छ ।
विभिन्न १३ देशका लागि प्रश्तावित राजदुतहरूविरुद्ध परेका उजुरीको विषयमा छलफल गर्न बोलाइएको बैठकमा उजुरीकर्ताहरू सम्पर्कमा नआएपछि समितिले थप प्रक्रिया अगाडि बढाउने विषयमा छलफल गरेको हो ।
१३ वटा राष्ट्रका लागि प्रश्तावित राजदुतहरूविरुद्ध चारजना व्यक्तिबाट ७ वटा उजुरी परेकोमा अधिकांश उजुरीकर्ता बैठकमा उपस्थित भएनन् ।
समितिका सभापति वोधनारायण श्रेष्ठकाअनुसार जापानका लागि प्रश्तावित राजदुत ज्ञानकुमार थापा र साउदी अरबका लागि प्रश्तावित राजदुत गिरिबहादुर सुनारविरुद्ध उजुरी दिने उजुरीकर्ताहरू सम्पर्कविहीन भएका छन् ।
समितिको पटक–पटकको प्रयासका बाबजुद उनीहरू उपस्थित नभएपछि समितिले यसबारे गम्भीर चासो व्यक्त गरेको छ ।
भारतका लागि प्रश्तावित राजदुत निश्चलनाथ पाण्डेविरुद्ध उजुरी दिने दीपा भण्डारीले भने इमेलमार्फत आफू उपस्थित हुन नसक्ने जनाउँदै समिति समक्ष उजुरी पढेर सुनाउन आग्रह गरेकी छिन् ।
बैठकमा सार्वजनिक सूचना प्रकाशनको समयसीमाका विषयमा समेत बहस भएको छ ।
कानूनी व्याख्यासम्बन्धी ऐनअनुसार बिदाको दिनपछि सूचना गणना गर्दा प्रभावकारी समय कम हुने भएकाले कार्यालय समयलाई ध्यानमा राखेर आगामी कात्तिक ९ गते सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ ।
सभापति श्रेष्ठले नागरिकहरूलाई जानकारी गराउन र उजुरी संकलन गर्ने उद्देश्यले सरकारी सञ्चारमाध्यम तथा संसद सचिवालयको वेबसाइटमा सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन दिए ।
प्रकाशित मिति २०८३ असोज २६ गते सोमबार ११:५१




