काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले शिर्ष नेताहरुका कारण देशमा अस्थिरता बढेको बताएकी छन् ।
शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अस्थिरताको कारण प्रतिनिधि सभामा आइपुगेको उत्पीडित समुदायका व्यक्ति नभएको बताएकी हुन् ।
उनले अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरु नभइ देश सञ्चलन गर्ने शिर्ष नेतृत्व रहेको टिप्पणी गरिन् । संविधान बनेदेखि नै संशोधनको औचित्य रहेको बताउनु भयो ।
संविधान असंशोधनीय दस्ताबेज नभएको बताइन् । गठबन्धन परिवर्तनको राजनीतिक एजेण्डा संविधान संशोधन भएपनि अहिलेसम्म पुष्टि हुन नसकेको जिकिर गरिन् । देशमापाँच वर्ष टिक्ने सरकार आवश्यक रहेको उनले जिकिर गरिन् ।
उनले भनिन्, ‘शासकीय स्वरुप, निर्वाचन प्रणाली बदल्नुपर्छ । यो मलाई पनि लाग्छ र मेरो दलको मान्यता पनि हो । तर अस्थिरताको कारण प्रतिनिधि सभामा आइपुगेको उत्पीडित समुदायका मान्छेहरु होइनन् । यसरी सोच्यो भने यो गलत हुन्छ । हामी त झन्डै दुई तिहाईको बीचमा पुगेका नेकपाका मान्छे हौँ । एउटै पार्टीको झन्डै दुई तिहाई पुगे पनि त टिक्दो रहेनछ भन्नेकुरा त ०७४ को निर्वाचनपछि हामीले भोगेर आएका छौँ । अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरु हुन् वा यो देशलाई सञ्चालन गर्ने शिर्ष नेतृत्वहरु हुन् ? यहाँनेर खोजि गर्नुपर्ने जरुरी छ । अस्थिरताका कारक उत्पीडित समुदायका महिला, दलितहरु होइनन् । अस्थिरताका कारक यहाँ शिर्ष हौँ भन्ने नेताहरु हुन् ।’
सांसद शर्माले निर्वाचन प्रणाली अस्थिरताको कारण नभएको स्पष्ट पारिन् । पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको पनि उनको भनाइ छ ।
प्रकाशित मिति २०८१ फागुन ३ गते शनिबार ०५:२९




