२०८३ साउन २१ गते बिहीबार

पर्यटन प्रवर्द्धनका लागि टान गण्डकीको पहल

पर्यटन प्रवर्द्धनका लागि टान गण्डकीको पहल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ८ गते बिहीबार ०८:०९

पोखरा । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टान गण्डकीले पर्यटन प्रवर्द्धनका लागि पहल गरिरहेको छ । यसै सन्दर्भमा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यसहितको टोलीले हालै काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका...

पोखरा । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टान गण्डकीले पर्यटन प्रवर्द्धनका लागि पहल गरिरहेको छ । यसै सन्दर्भमा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यसहितको टोलीले हालै काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन सचिव विनोद प्रकाश सिंह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी, उपाध्यक्ष कमल सापकोटा, वरिष्ठ अधिकृत कुन्दन मिश्र तथा टान केन्द्रका अध्यक्ष सागर पाण्डेसँग भेटघाट तथा छलफल गरेको छ।

भेटका क्रममा टान गण्डकीले पोखरालाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार, सेवा तथा व्यवस्थापनका चुनौतीबारे जानकारी गराउँदै तिनको समाधानका लागि सरकार तथा सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको थियो।

पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र नभई साहसिक पर्यटनका लागि पनि प्रसिद्ध गन्तव्य हो। तर, काठमाडौं–पोखरा यातायातको अवस्था, अन्तर्राष्ट्रिय उडानको सीमितता, पर्यटकीय स्थलहरूको संरक्षण अभाव, पर्यटन व्यवस्थापनमा देखिएका कमजोरी तथा प्राकृतिक चुनौतीहरूका कारण अपेक्षित प्रतिफल हासिल गर्न कठिन भइरहेको बारे टानले जानकारी गराएको छ ।

टान गण्डकीले ट्रेकिङ म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम ९त्क्ष्ःक्० को प्रभावकारी कार्यान्वयन, पदमार्गहरूको खोजी तथा प्रवर्द्धन, दुर्घटना न्यूनीकरण, गाइड र पोर्टरहरूको सुरक्षित रोजगारी सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसबारे सरकारलाई विशेष पहल गर्न आग्रह गरेको छ। साथै, गण्डकी प्रदेशका ११ जिल्लालाई समेट्ने गरी पदमार्गहरूको विस्तारको योजना अघि सार्दै यसलाई छिटो कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको लामो समय भए पनि अन्तर्राष्ट्रिय पर्यटकहरूको चाप अपेक्षाकृत रूपमा बढ्न नसकेको टान गण्डकीको निष्कर्ष रहेको छ। पर्यटकीय सेवा तथा वस्तुहरूको प्रवर्द्धनमा अझै व्यवस्थित मार्केटिङको अभाव रहेको र अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त प्रचार९प्रसार नहुँदा पोखरा विदेशी पर्यटकहरूको मुख्य गन्तव्य बन्न नसकेको कुरामा छलफल भएको थियो।

यस अवस्थालाई सुधार गर्न पोखराको अन्तर्राष्ट्रिय ब्रान्डिङ आवश्यक रहेको र त्यसका लागि अन्तर्राष्ट्रिय प्रमोशनल भ्रमणहरू आयोजना गर्नु पर्ने टान गण्डकी टोलीको धारणा थियो। सम्बन्धित निकायहरूले पोखराको पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाउनुपर्ने माग समेत प्रस्तुत गरिएको छ।

यस छलफलले पोखराको पर्यटन विकासका लागि नीति निर्माण तहमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। पर्यटन क्षेत्रका सरोकारवालाहरूको सामूहिक प्रयासले मात्र पोखरालाई विश्वस्तरीय गन्तव्यका रूपमा उभ्याउन सकिनेमा टान गण्डकी प्रतिबद्ध रहेको छ।

प्रकाशित मिति २०८१ फागुन ८ गते बिहीबार ०८:०९
हजुरको प्रतिक्रिया