पोखरा ।
कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोकिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा हिजो बसेको बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद आयोजनाको नयाँ मिति तय गरेको छ ।
नयाँ मितिअनुसार २०८२ साल जेठ ३ देखि १० गतेसम्म १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको राखेपले जनाएको छ ।
यसअघि २०८१ साल चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने भनिएको थियो ।
गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमा २०८१ को मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो ।
यस्तै बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको छ ।
राखेपले अवैध ठहर गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनावमा सहभागी ६ राष्ट्रिय खेल संघलाई राखेपले निलम्बन गर्ने निर्णयसमेत गरेको छ ।
निलम्बनमा परेका राष्ट्रिय खेल संघमा नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन् ।
राखेप कार्यकारी समितिको बैठकले ती ६ खेल संघलाई कारबाहीस्वरुप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो ।
प्रकाशित मिति २०८१ फागुन १६ गते शुक्रबार ०७:२०




