‘लुज डाउन’ मा के खुल्छ, के खुल्दैन ?
पाेखरा । काेराेना भाइरस संक्रमणकाे दर न्यून हुँदै गएकाे भन्दै सरकारले निषेधाज्ञालाई खुकुलो बनाउने योजना अघि सार्ने भएको छ । यद्यपी, सम्वन्धित क्षेत्रका सराेकारवालाहरूले भने परिक्षण दर घटाइएका कारण संक्रमण दर न्यून देखिएकाे भन्दै काेराेना संक्रमणकाे दर नघटेकाे बताएका छन् ।
गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधारमा असारदेखि लुज डाउन लागू गर्ने योजना अघि सारिएकाे हाे ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुनेकाे दर उच्च रहेकाे तथ्याङ्कले देखाएको छ।
कोरोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह मन्त्रालयले यसपालि त्यो गल्ती नदोहोर्याउने जनाएकाे छ ।
मन्त्रालयका अनुसार आवश्यकताका आधारमा लकडाउनलाइ विस्तारै खुकुलो पार्दै लुजडाउनतर्फ लगिने छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैन ।
कोरोनाको दोस्रो लहरसँगै नेपालमा गत वैशाख ७ गते बाग्लुङबाट निषेधको आदेश जारी गर्नेक्रम शुरु भएको थियो । सङ्क्रमण नियन्त्रणका लागि वैशाख १३ गते बाँके र १४ गते सुर्खेतमा निशेधाज्ञा जारी गरिएकाेमा १६ गतेदेखि उपत्यकासहित धेरै जिल्लाले निषेधाज्ञा जारी गरेका थिए। जेठ मसान्तसम्म खोटाङ र मनाङ बाहेकका ७५ जिल्लाले निषेधाज्ञा जारी गरी सङ्क्रमण नियन्त्रणमा सक्रियता देखाइरहेका छन्।
प्रकाशित मिति २०७८ जेठ २५ गते मंगलबार ०७:५७




