पोखरा ।
आईतबारदेखि शुरु हुने शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल २०८१ को तयारी पूरा भएको छ ।
कुल १४ क्लवले प्रतिष्पर्धा गर्ने नेपाली फुटबलको ‘बी’ डिभिजन लिग फागुन २५ देखि जेठ २५ गतेसम्म हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै लिगको तयारी पूरा भएको जानकारी दिएको हो ।
कुल ९३ दिनसम्म चल्ने यस लिगको सम्पूर्ण तयारीहरु पूरा भइसकेको एन्फाले जनाएको छ । फिफाको नियमअनुसार ९३ दिनसम्म लिग सञ्चालन हुनुपर्ने प्रावधान छ ।
तर क्लवहरूले ५० दिनमा नै लिग सकाउने प्रश्ताव गर्दै आएका छन् । यद्यपि त्यो प्रश्तावअनुरूप लिग गर्न नसकिने एन्फाका टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले बताए ।
सबै क्लवलाई १४ लाख ५० हजार तयारी खर्च दिने एन्फाले जनाएको छ । सिंगल राउन्ड रोबिनका आधारमा हुने खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।
कुल ९१ वटा खेलहरूमध्ये केही त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ ।
लिगको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ एक सय र भिआइपी पारापिटतर्फ तीन सय तय टिकट दर तय गरिएको छ ।
लिगको विजेता, उपविजेता तथा अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । लिगको विजेताले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुने टोलीले पाँच लाख रूपैयाँ पाउनेछन् ।
फेयर प्ले टोली र उत्कृष्ट खेलाडीले एक लाख रूपैयाँ पाउने एन्फाले जनाएको छ । उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले ५० हजार रूपैयाँ पाउने भएका छन् ।
प्लेयर अफ द म्याचले सात हजार पाँच सय पाउनेछन् । हरेक खेलमा जितबापत २५ हजार र खेल बराबरी भएको खण्डमा दुवै टिमले १० हजार रुपैयाँ प्रदान गरिने एन्फाले उल्लेख गरेको छ ।
प्रकाशित मिति २०८१ फागुन २४ गते शनिबार ०९:५०




