पाेखरा । युरो २०२० युरोपियन फुटबल महासंघ (युइएफए) को आयोजनामा हुन लागेको १६औं संस्करण महादेशीय फुटबल प्रतियोगिता हो ।
प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुँदैछ। सुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय थियो । तर कोरोना भाइरसका कारण प्रतियोगिता एक वर्ष सारियो । प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ। एक वर्ष सारेर सन् २०२१ मा प्रतियोगिता आयोजना गर्न लागिए पनि नाम ‘युइएफए युरो २०२०’ नै राखिएको छ ।
प्रतियोगिताको उद्घाटन खेल जुन ११ मा इटालीको रोममा हुँदैछ। उद्घाटन खेलमा टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । पोर्चुगल युरो कपको साविक विजेता हो । सन् २०१६ मा उपाधि जित्ने क्रममा पोर्चुगलले फाइनलमा फ्रान्सलाई पराजित गरेको थियो । युरो कपमा पहिलो पटक भिएआर प्रयोग हुँदैछ ।
कोरोना कारण युरो २०२० मा केही नियम परिवर्तन गरिएको छ। एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ। खेल अतिरिक्त समयमा धकेलिएको अवस्थामा थप एक खेलाडी परिवर्तन गर्न पाइने नियम बनाइएको छ। नियमित समयमा तीन पटक मात्र खेलाडी परिवर्तन गर्न पाइनेछ। अतिरिक्त समय एक पटक खेलाडी परिवर्तन गर्न पाइनेछ।
युरो कपमा लागि एक टिममा २६ खेलाडी राख्न पाइने नयाँ नियम बनाइएको छ । यसअघि एक टिमले २३ खेलाडी मात्र राख्न पाउथे। युरो २०२० मा २४ टिमबीच प्रतिस्पर्धा हुँदैछ। जसमध्ये १९ टिम अघिल्लो संस्करण खेलेका छन् ।
फिनल्यान्ड र नर्थ म्यासेडोनिया पहिलो पटक युरो कप खेल्दैछन्। स्कटल्यान्ड सन् १९९८ को विश्वकप पछि पहिलो मुख्य प्रतियोगिता खेल्दैछ । अघिल्लो संस्करणमा छनोट हुन नसकेका नेदरल्यान्ड्स र डेनमार्क यसपटक युरो कपमा फर्किएका छन् । नेदरल्यान्ड्स २०१४ को विश्वकपछि पहिलो पटक मुख्य प्रतियोगिता खेल्दैछ। युरो कपको पूर्व विजेता मध्ये ग्रिस मात्र यो प्रतियोगिता सहभागी छैन । २००४ को विजेता ग्रिस छनोट पार गर्न असफल भएको थियो ।
सन् २०१६ को युरो कप खेलेका अल्बानिया, आइसल्यान्ड, उत्तरी आयरल्यान्ड, आयरल्यान्ड गणतन्त्र र रोमानिया युरो २०२० मा छनोट हुन सकेनन्।
११ वटा आयोजक देश मध्ये सात देशले युरो कपको छनोट सिधा पार गरेका थिए। हंगेरी र स्कटल्यान्डले प्लेअफ जितेका थिए। आयोजक देश मध्ये रोमानिया र अजरबैजान भने छनोट हुन असफल भए ।
प्रकाशित मिति २०७८ जेठ २८ गते शुक्रबार १०:२२




