आज दोस्रो दिनका खेलहरू हुँदै, नेपालले युगाण्डासंग खेल्दै
पोखरा ।
नेपाल युगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ ।
शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग नेपाल डकवर्थ लुइस (डिएलएस) मा ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको ९३ को लक्ष्य पछ्याएको नामिबियाले १४.५ ओभरमा चार विकेट गुमाउँदै ७१ रन बनाएको थियो ।
तर, वर्षा नरोकिएपछि डिएलएसमा नामिबिया विजयी भएको हो ।
नामिबियाकी मेकेले म्वाटिलेले सर्वाधिक २६ रन बनाएकी थिइन् । उनले ३५ बल खेलेकी हुन् । उनले तीन चौका प्रहार गरिन् ।
नेपालका पूजा महतो, कविता जैशी, इन्दु बर्मा र ईश्वरी विष्टले समान एक विकेट लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रनको योगफल बनाएको थियो ।
यो शृंखलाको अर्काे खेलमा घरेलु टोली युगान्डाले हङकङलाई ८ विकेटले हराएको छ ।
युगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कपमा आज दोस्रो दिनका खेलहरू हुँदैछन् । आजको पहिलो खेलमा घरेलु टोली युगाण्डा र नेपालबीच खेल हुँदैछ ।
दोस्रो खेलमा हङकङ र नामिबिया खेल्ने छन् । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ ।
नेपालले यसपछि भोलि फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।
यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।
आईसीसीको महिला टी–२०आई वरियतामा नेपाल २१औं, हङकङ २२औं, युगाण्डा १८औं र नामिबिया १७औं स्थानमा छन् ।
प्रकाशित मिति २०८१ फागुन २५ गते आइतबार ०९:०८




