२०८३ साउन २१ गते बिहीबार

अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न

अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ३० गते शुक्रबार ११:१९

फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाखौं श्रद्धालुले जनकपुरधामको १५ किलोमिटर वरिपरिको क्षेत्र परिक्रमा गर्दै अन्तगृह परिक्रमा गर्ने परम्परा छ ।

जनकपुर ।

१५ दिवसीय मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न भएको छ ।

लाखौं श्रद्धालुहरूको सहभागितामा शुक्रवार बिहान सम्पन्न भएको यो परिक्रमा मिथिलाको महत्वपूर्ण धार्मिक अनुष्ठान मानिन्छ ।

मिथिला मध्यमा परिक्रमा गर्न नसकेका श्रद्धालुहरू अन्तगृह परिक्रमामा सहभागी भएका थिए । धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोलासँगै शुरु भएको मध्यमा परिक्रमा बिहीवार साँझ जनकपुरधाम फर्किएको थियो ।

फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाखौं श्रद्धालुले जनकपुरधामको १५ किलोमिटर वरिपरिको क्षेत्र परिक्रमा गर्दै अन्तगृह परिक्रमा गर्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार अन्तगृह परिक्रमा गरे १५ दिवसीय परिक्रमाकै फल प्राप्त हुन्छ । यो यात्रा सकेर जानकी मन्दिर र राम मन्दिरमा दर्शन गरेपछि मिथिलाञ्चलमा होली पर्व विधिवत रूपमा शुरु भएको मानिन्छ ।

धर्मशास्त्रहरूमा वृहत, मध्यमा र अन्तगृह गरी तीन परिक्रमाको उल्लेख गरिएको पाइन्छ । मध्यमा परिक्रमा गर्न नपाएकाहरू अन्तगृह परिक्रमामा सहभागी हुने गर्दछन् ।

परम्पराअनुसार अन्तगृह परिक्रमा हुने दिन जनकपुरधाम नगर क्षेत्रमा माछा–मासु विक्रीमा प्रशासनले दुई दिनसम्म रोक लगाउने गर्दछ ।

यसै कारण जनकपुरधाम र वरिपरिका क्षेत्रहरूमा होली पर्व भोली (शनिबार) मात्रै मनाइनेछ ।

मधेस प्रदेशका अन्य कतिपय जिल्लाहरूमा आज नै होली मनाइँदैछ ।

प्रकाशित मिति २०८१ फागुन ३० गते शुक्रबार ११:१९
हजुरको प्रतिक्रिया