चेक रिपब्लिकका प्याट्रिक सिककाे नाममा बन्याे किर्तिमान
पाेखरा । युरोकप २०२० अन्तर्गत समूह ई को गएराती सम्पन्न खेलमा उपाधीकै दावेदारमध्ये एक मानिएकाे स्पेन स्वीडेनसँग बराबरीमा राेकिएकाे छ । घरेलु मैदान स्टाडिओ डे ला कार्टुजामा भएको खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । जुन १६औं संस्करणको युरोकपमा पहिलो गोलरहित बराबरीसमेत हो ।
समूह ई अन्तर्गत नै सोमबार राति भएको अर्काे खेलमा स्लोभाकियाले १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ ले पराजित गरेको हो । दोस्रो पटक युरोकप खेलिरहेको स्लोभाकियाले रोवर्ट लेवान्डोस्कीको पोल्याण्डलाई स्तब्ध पार्दै सुखद सुरुआत गरेको हो । खेलको १८औं मिनेटमा पोल्याण्डका गोलकिपर वचेक स्चेन्सीले आत्मघाट्टी गोल गरेपछि स्लोभाकियाले अग्रता लिएको थियो ।स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल सुरुमा पोस्टमा लागेको थियो । तर पोष्टमा लागेर पर्केको बल गोलकिपर स्चेन्सीलाई लाग्दै गोल भयो ।
पहिलो हाफमा पछि परेको पोल्याण्डले दोस्रो हाफको सुरुमै बराबरी गोल फर्कायो । ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई खेलमा फर्काएका थिए । तर ६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा समेटिएपछि दबाबमा पर्यो । पोल्याण्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसैको फाइदा उठाउँदै मिलान स्क्रिनरले ६९ औं मिनेटमा गोल गर्दै स्लोभाकियालाई दोस्रो पटक अग्रता दिलाएका थिए । त्यही अग्रता कायम राख्दै स्लोभाकियाले ३ अंक जोड्न सफल रह्याे ।
यस्तै गएराती नै सम्पन्न अर्काे खेलमा चेक गणतन्त्रले स्कटल्यान्डलाई २–० ले हराएको छ । प्याट्रिक सिकले युरो कप फुटबल इतिहासकै लामाे दुरीकाे गोल गर्दै चेक रिपब्लिकलाई विजयी बनाए । सिकले खेलकाे ५२ औं मिनेटमा मैदानकाे झण्डै मध्यभाग (४९ दशमलव ७ मिटर) टाढाबाट गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे । यसअघि जर्मनीका मिडफिल्डर टोस्र्टेनको नाममा युरोकपमा लामो दूरीबाट गोल गर्ने किर्तिमान थियो । सन् २००४ मा उनले ३८ दशमलव ६ मिटर परबाट गोल गरेका थिए । यस्तै खेलको ४२ औ मिनेटमा हेडरमार्फत सिकले नै चेक गणतन्त्रलाई अग्रता दिलाएका थिए ।
जीतसँगै चेक गणतन्त्र समूह डीको शीर्ष स्थानमा छ । समान ३ अंक बटुलेको चेकले गोलअन्तरमा इङल्यान्डलाई पछि पार्दै शिर्षस्थान सुरक्षित गरेकाे हाे ।
प्रकाशित मिति २०७८ असार १ गते मंगलबार १२:२१




