पोखरा ।
एएफसी एसिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको इब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार खेला राति पौने ८ बजे सुरु हुनेछ । नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रँदै छ ।
मलेसिया जानुअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई १–० गोलले हराएको थियो ।
सिंगापुरलाई ३६ वर्षपछि पहिलो पटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताए ।
खेलअघि सोमबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक रोसले मलेसिया बलियो र राम्रो टोली भएको उल्लेख गर्दै नेपाली खेलाडीको प्रदर्शन पनि कम नहुने बताए ।
यस्तै नेपालका कप्तान किरण चेम्जोङले मलेसियालाई घरेलु मैदानको साथ रहेपनि नेपाली सर्मथकको साथमा राम्रो प्रदर्शन गर्ने बताए ।
फिफा वरीयातमा मलेसिया एक सय ३२औँ र नेपाल एक सय ७५औँ स्थानमा छ । नेपालले अहलेसम्म मलेसियालाई हराउन सकेको छैन ।
नेपाल र मलेसियाबिच हालसम्म सात वटा अन्तर्राष्ट्रिय भिडन्त भएको छ ।
जसमा नेपाल ६ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो। नेपाल र मलेसियाबिच पछिल्लो पटक सन् २०१९ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भिडन्त भएको थियो । जसमा नेपाल २–० गोलले पराजित भएको थियो ।
यो पटकको छनोटमा एशियाका २४ टिमलाई छ समूहमा विभाजित गरिएको छ । नेपाल समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ ।
नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसिया, भियतनाम र लाओससँग होम एन्ड अवेका आधारमा खेल्नेछ ।
समूहको शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ ।
प्रकाशित मिति २०८१ चैत ११ गते मंगलबार ०८:४४




