काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि मन्त्रालयको बजेट सिलिङ ११ अर्ब घटाइएको बताएका छन् ।
मंगलबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् । मन्त्री दाहालका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
राष्ट्रिय राजमार्गहरु धेरै बनाउनुपर्ने तर आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयको सिलिङ घटाउनुले केही असहजता महशुस हुने उनले जिकिर गरे । राष्ट्रिय राजमार्ग भनेर पुनर्विचार गर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ ।
उनले राष्ट्रिय गौरवका आयोजनामा मन्त्रालयअन्तगर्त घटाउनुपर्ने वा थप्नुपर्ने केही भएदेखि त्यसको पनि गृहकार्य गर्ने प्रतिवद्धता जाहेर गरे ।
भौतिक मन्त्रालयको भुक्तानी दायित्व २ खर्ब ५२ अर्ब रहेको र चालु वर्षमा गत वर्षको ८ अर्ब भुक्तानी गरेको पनि उनले जानकारी दिए ।
बिपी राजमार्गलाई आगामी वर्षाको याममा पनि सञ्चालन हुनेगरी कच्ची वा ग्राभेल गर्नेगरी र सडक अवरुद्ध नहुने गरी काम भइरहेको उनले दाबी गरे ।
मन्त्री दाहालले भने, ‘हामीले राष्ट्रिय राजमार्ग भनेर पुनर्विचार गर्नुपर्ने भएको छ । हामीले राष्ट्रिय गौरवका आयोजना हाम्रो भित्र पर्नेलाई पनि हामी पुनःविचार गर्नेछौँ । घटाउनुपर्ने वा थप्नुपर्ने केही भएदेखि त्यसको पनि गृहकार्य गर्छौं । हाम्रो २ खर्ब ५२ अर्ब भुक्तानि दायित्व छ । हाम्रो मन्त्रालयभित्र । त्यसो हुँदाहुँदै पनि क्रमशः घटाउँदै गइरहेका छौँ । यस वर्ष पनि गत वर्षको लगभग ८ अर्ब पैसा भुक्तानी गरेका छौँ । हामीलाई ११ अर्ब सिलिङ घटाइएको छ । त्यस्तो अवस्थामा यहाँहरुले राख्नुभएको कुरा इज्जत जोगाइदिनु होला जुन भन्नुभएको छ । त्यसमा हाम्रो ध्यान गएको छ । मान्यज्युहरुसँगै सल्लाह गर्ने हो । मान्यज्युहरुले नै बजेट पास गर्ने हो ।’
नेपाल सुरुङ युगमा प्रवेश गरेको र नागढुङ्गा सुरुङमार्ग अब सुचारु गर्ने अवस्थामा पुगेको जानकारी दिँदै मन्त्री दाहालले केही समयपछि नै सरकारले सञ्चालनका लागि प्राप्त गर्ने बताए ।
त्यसको सञ्चालन मोडालिटी तयार गर्न लागेको र रोड कलेक्शनको मोडलबाट अघि बढाइने उनले उल्लेख गरे । फास्ट ट्रयाक पनि समयमै सम्पन्न गर्ने काममा अघि बढिरहेको उनको भनाइ छ ।
सरकारले त्रिदेशीय सडकलाई बढी प्राथमिकता दिनुपर्ने सांसदहरुको आवाजलाई गम्भीरताका साथ लिएको उनले बताए ।
प्रकाशित मिति २०८१ चैत १२ गते बुधबार ०९:१३




