२०८३ असोज २४ गते शनिबार

नेपाल सुपर लिग : सुखद् नतिजा ल्याउने अपेक्षामा एफसी चितवन र पोखरा थन्डर्स

नेपाल सुपर लिग : सुखद् नतिजा ल्याउने अपेक्षामा एफसी चितवन र पोखरा थन्डर्स

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १३ गते बिहीबार ०९:४२

पोखरा थन्डर्सका सिनियर खेलाडी नवयुग श्रेष्ठले यसपल्ट युवा र राम्रो विदेशी खेलाडीसहित सन्तुलित टोली बनेकाले सुखद नतिजा आउने बताउँछन् । पोखराले १२ दिन देखि तयारी थालेको हो । यद्यपि, केही विदेशी खेलाडी आउन बाँकी छ ।

पोखरा ।

तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) नजिकिँदै गर्दा फ्रेन्चाइज टोली एफसी चितवन र पोखरा थन्डर्सले आफ्नो तयारीलाई तीव्रता दिएका छन् ।

आउँदो शनिबार दशरथ रंगशालामा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिस्पर्धा गरेसँगै तेस्रो संस्करणको एनएसएलका खेल शुरु हुनेछन् ।

तेस्रो संस्करणमा कुल सात टोलीले प्रतिष्पर्धा गर्दैछन् । तीमध्ये चितवन र पोखराले आफ्नो तयारीलाई तिव्रता दिएका हुन् ।

पछिल्ला दुई संस्करणको नतिजा हेर्ने हो भने पोखराले राम्रो नै प्रदर्शन गरेको थियो । तर, चितवनको भने दुवै संस्करण सुखद हुन सकेको थिएन ।

पहिलो संस्करणमा पोखरा र चितवन दुवै प्लेअफमा पुग्न असफल टोली हुन् । तर दोस्रो संस्करणमा पोखरा लिगको अंकतालिकामा शिर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।

प्लेअफमा भने पोखराले सुखद प्रदर्शन गर्न सकेन । चितवनले भने लगातार दोस्रो संस्करणमा पनि खराब प्रदर्शन जारी राख्यो ।

९ टोली सहभागी लिगको सातौं स्थानमा रहेर यात्रा टुंगाएको थियो । यसपटक भने पोखरासँगै चितवनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुग्ने लक्ष्य राखेको छ ।

पोखरा थन्डर्सका सिनियर खेलाडी नवयुग श्रेष्ठले यसपल्ट युवा र राम्रो विदेशी खेलाडीसहित सन्तुलित टोली बनेकाले सुखद नतिजा आउने बताउँछन् । पोखराले १२ दिन देखि तयारी थालेको हो । यद्यपि, केही विदेशी खेलाडी आउन बाँकी छ ।

क्षमतावान् युवा र विदेशी खेलाडी टोलीमा छन् । धेरै जोश भएका युवा खेलाडी रहेको र उनीहरूलाई गाइड गरेर राम्रो नतिजा ल्याउने आशामा नवयुग छन् ।

सबै टोली राम्रो रहेको र खेल प्रतिस्पर्धात्मक हुने भएकाले सतर्क भएर खेल्ने उनी बताउँछन् । अहिले एकअर्कालाई बुझ्ने गरी टिम सेट भइरहेको र प्रतिस्पर्धाको दिनसम्म टोली राम्रो आकारमा रहने उनको विश्वास छ ।

पोखरा र एफसी चितवनको पहिलो खेल नै आगामी सोमबार छ । पोखरा थन्डर्सको मार्की युवा स्टार समीर तामाङ हुन् । समीरले आफ्नो टोलीले मैत्रीपूर्ण खेल खेलेको र त्यसक्रममा केही पक्षमा सुधार गरिएको बताए ।

टिममा राम्रा युवा र विदेशी खेलाडी रहेकाले सुखद प्रदर्शन आउने उनको अपेक्षा छ ।

यता एफसी चितवनले पछिल्ला दुई सिजन राम्रो नतिजा नआए पनि यसपल्ट च्याम्पियन बन्ने लक्ष्यसहित तयारी गरिरहेको छ । यसपल्ट सन्तुलित टोली बनेको चितवनको अपेक्षा छ ।

चितवनका जय गुरुङले पछिल्लो १० दिनदेखि प्रशिक्षण सुरु गरेको उल्लेख गर्दै अहिले ट्याक्टिल र टेक्निकल प्रशिक्षण सुरु भइरहेको बताए ।

प्रिसिजनका केही खेलहरू पनि खेलेको उनले उल्लेख गरे । पछिल्ला सिजनहरू राम्रो हुन नसकेकाले यसपल्ट सुखद नतिजा निकाल्ने लक्ष्यसहित खेल्ने जयले बताएका छन् ।

अनुभवी स्वदेशी खेलाडी र विदेशी खेलाडी रहेकाले बलियो टोली बनेको उनको विश्वास छ । चितवनका अर्का खेलाडी मिलन राईले पनि प्रशिक्षण धेरै राम्रो भैरहेको उल्लेख गरे ।

टोलीका खेलाडीबीच राम्रो तालमेल मिलाउने पक्षमा पनि काम भएको उनको भनाइ छ । राम्रा विदेशी र घरेलु खेलाडी पनि राम्रो रहेकाले सुखद नतिजाको अपेक्षामा उनी छन् । चितवनको प्रशिक्षक नवीन न्यौपाने हुन् ।

उनी नेपालका उत्कृष्ट प्रशिक्षकमध्ये एक हुन् । घरेलु फुटबलमा नवीन सफल प्रशिक्षक मानिन्छन् । यस संस्करणको एनएसलमा तीन नेपाली प्रशिक्षकमध्ये एक हुन्, सुमन श्रेष्ठ । उनले पोखरा थन्डर्सको प्रशिक्षण समालिरहेका छन् ।

युवा स्टारले भरिएको पोखराले सुमनको प्रशिक्षणमा राम्रो नतिजा ल्याउने अपेक्षा गरिएको छ । पोखरा थन्डर्समा पोर्चुगलको घरेलु फुटबलमा तेस्रो डिभिजन क्लबबाट खेल्दै आएका निसान हमाल पनि छन् ।

प्रकाशित मिति २०८१ चैत १३ गते बिहीबार ०९:४२
हजुरको प्रतिक्रिया