२०८३ असोज २६ गते सोमबार

गणतन्त्रवादी र राजावादीहरुले आज काठमाडौँमा प्रदर्शन गर्दै

गणतन्त्रवादी र राजावादीहरुले आज काठमाडौँमा प्रदर्शन गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १४ गते शुक्रबार ०७:४०

दुवै पक्षको प्रदर्शनलाई ध्यानमा राख्दै सरकारले कडा सुरक्षा व्यवस्था गरेको बताएको छ । काठमाडौँका दुई स्थानमा हुने बेग्लाबेग्लै समूहको प्रदर्शनलाई लक्षित गरेर साढे ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

काठमाडौ ।

गणतन्त्रवादी र राजावादीहरुले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । चार दल सामेल रहेको समाजवादी मोर्चाले आज गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ ।

मोर्चाले काठमाडौँका विभिन्न भित्री सडकबाट जुलुस निकाल्दै काठमाडौँको भृकुटीमण्डपमा सभा गर्ने भएको छ ।

मोर्चामा रहेका माओवादी केन्द्रले माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र सोह्रखुट्टेबाट जुलुस निकाल्दै बताएको छ भने एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट जुलुस निकाल्ने तय गरिएको छ ।

त्यस्तै विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट जुलुस निकाल्ने बताइएको छ ।

यसैगरी राजतन्त्रको पक्षमा राजावादी दलहरुसहितको अभियानले आज काठमाडौँको तिनकुनेमा प्रदर्शन गर्ने भएको छ । आजको प्रदर्शनमा राप्रपा, राप्रपा नेपाल जस्ता राजावादी दलहरुले पनि सक्रिय सहभागिता जनाउने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज राजावादी र गणतन्त्रवादी दुवैको प्रदर्शन हुने भएपछि सम्भावित झडपलाई ध्यानमा राख्दै राजवादीहरुलाई रिङरोडमा प्रदर्शन गर्दै तिनकुनेमा सभा गर्न अनुमति दिएको छ ।

दुवै पक्षको प्रदर्शनलाई ध्यानमा राख्दै सरकारले कडा सुरक्षा व्यवस्था गरेको बताएको छ ।

काठमाडौँका दुई स्थानमा हुने बेग्लाबेग्लै समूहको प्रदर्शनलाई लक्षित गरेर साढे ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

सम्भावित मुठभेड रोक्न ३५ सयभन्दा बढी नेपाल प्रहरी र २ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने भएको हो ।

प्रदर्शनमा उत्रिनेहरूलाई पनि संयम भएर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०७:४०
हजुरको प्रतिक्रिया