२०८३ साउन २१ गते बिहीबार

काँग्रेसका प्रदेश सांसदद्वारा मठ मन्दिरको जग्गा कब्जा गरेको आरोप

काँग्रेसका प्रदेश सांसदद्वारा मठ मन्दिरको जग्गा कब्जा गरेको आरोप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १४ गते शुक्रबार ११:३६

घटनास्थलमा पत्रकारहरू गई जग्गाको बारेमा बुझ्न खोज्दा अमित यादवले आफूले जग्गा लिजमा लिएको र आफ्नो जग्गा भएको बताए । उनले आफूले कुनै कागजात नदिने भन्दै कसले के गर्नसक्छ गर्न चुनौती समेत दिए ।

काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेसका मधेस प्रदेश सांसद जंगीलाल राय यादवले पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा गरेको आरोप लागेको छ ।

सांसद रायले आफ्नो छोरा अमित यादवको नाममा मनखप भनी जनकपुरधाम–१४ स्थित विहार कुण्ड मन्दिरका जग्गा कब्जा गरेको आरोप स्थानीयहरू र महन्थहरूले लगाएका छन् ।

जनकपुरधाम–८ स्थित विहार कुण्ड मन्दिरको वडा नं. १४ प्रहरी चौकी नजिकको रहेको जग्गा सांसद रायको नाममा मन्दिरका महन्थ रामसागर दासले करोडौँको जग्गा मनखप भनी कागज गरिदिएका छन् । अमितले सो जग्गामा अहिले अस्पताल बनाउन निर्माण कार्य शुरु गरेका छन् ।

अस्पताल निर्माण गर्न जग्गामा माटो भर्न लाग्दा स्थानीयवासीले मन्दिरको जग्गा व्यक्तिगत व्यवसायिक प्रयोजनमा नभई सार्वजनिक कार्यमा प्रयोग हुनुपर्ने भन्दै विरोध जनाएपछि घटना बाहिरिएको हो । स्थानीयले विरोध गर्न खोज्दा बुधवारदेखि नै विवाद हुँदै आएको छ । स्थानीयवासीले नजिकै रहेका जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन समेत दिएका छन् ।

जिप्रका धनुषाले सो निवेदनमा के कसो बुझेर कारवाही प्रक्रिया अघि बढाउने निर्देशन दिए पनि स्थानीय प्रहरी चौकीले विपक्षीसँग आर्थिक लेनदेनको आधारमा केही नगरी मौन बसेको स्थानीय दीपक पटेलले बताए ।

उनले भने, ‘मन्दिरको जग्गा यसरी दिनदहाडै अतिक्रमण भइरहेकोमा जिप्रकाले निर्देशन दिए पनि प्रहरी चौकी इन्चार्जलाई पटक पटक भन्दा देवानी मुद्दा हो यसमा म केही गर्न सक्दैन भनी आलटाल गर्दै आएको छ । प्रहरीको यस्तो व्यवहार के लाग्छ भने प्रहरी पनि विपक्षीसँग आर्थिक लेनदेनको आधारमा मिलामतो गरेको हो ।’

अर्का स्थानीय गिरिशचन्द्र यादवले मन्दिरको जग्गामा सार्वजनिक काम हुनुपर्ने बताए । अहिले उक्त जग्गा व्यक्तिगत व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिएको बताए । प्रहरीले कारवाही प्रक्रिया अघि नबढाए पनि आफूहरू मौन नबसी न्यायालयसम्म पुग्ने बताए ।

घटनास्थलमा पत्रकारहरू गई जग्गाको बारेमा बुझ्न खोज्दा अमित यादवले आफूले जग्गा लिजमा लिएको र आफ्नो जग्गा भएको बताए । उनले आफूले कुनै कागजात नदिने भन्दै कसले के गर्नसक्छ गर्न चुनौती समेत दिए ।

सिट नं. १२७५—२४ को कि.नं. ३० को ६ कट्ठा ५ धुर ३ कनमा मध्ये ४ कट्ठा एक धुर जग्गा वार्षिक मात्र ४० किलो धान मनपखमा दिने भनी अमितसँग २०६८ साल फागुन १६ गते विहार कुण्ड मन्दिरका महन्थ रामसागर दासले सम्झौता गरेका छन् । बाँकी रहेका २ कट्ठा ४ धुर जग्गा पनि रामविनोद भन्ने व्यक्तिलाई दिएका छन् ।

तर वास्तवमा मनपख भनी दिइएको जग्गा मन्दिरका महन्थले सो बेला २०÷२२ लाख रुपैयाँ लिएर बिक्री नै गरेको भन्ने कुरा महन्थ रामसागर दासले खुलाएका छन् । पत्रकारहरूसँग कुरा गर्दै महन्थ रामसागरले भने, ‘मन्दिरको जग्गा बेच्ने कानूनी प्रावधान नरहेको हुँदा मनखप भनी २०÷२२ लाख रुपैयाँमा वर्तमान प्रदेश सांसद जंगीलाल राय यादवको छोरालाई बिक्री गरेको हो ।’

‘मनखप भनी दिइएको जग्गामा घर निर्माण गर्न पाइन्छ ?’ भन्ने पत्रकारहरूको जिज्ञासामा महन्थ रामसागरले भने पूरा जनकपुर नै मठ मन्दिरको जग्गामा कोही मनखप त कोही मोहियानी भनेर बसेका छन् । अहिले सो क्षेत्र बस्ती भएका कारण त्यसमा घर बनाओस् कि, विद्यालय वा अस्पताल त्योसँग मेरो के सरोकार भन्दै तर्किए ।

अमितले सो जग्गामा पर्खाल निर्माण गर्न जनकपुरधाम उपमहानगरपालिकासँग २०७३ साल पुस महिनामै इजाजत पनि लिइसकेका छन् । अमितले सोही बेलादेखि कयौं पटक त्यसमा पर्खाल निर्माण खोज्दा स्थानीयको अवरोधपछि निर्माण गर्न सकेका थिएनन् ।

तर यस पटक कांग्रेस संघ, प्रदेश दुबै सरकार र बुबा प्रदेश सांसद भएपछि त्यसको फाइदा उठाउँदै सरकार, प्रहरी र उपमहानगरलाई प्रभावमा पारेर बाउन्सर समेत लगाई पर्खाल निर्माण कार्य अघि बढाइएको भन्ने स्थानीयको आरोप रहेको छ ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ११:३६
हजुरको प्रतिक्रिया