पाेखरा । युराे २०२० अन्तर्गत गएराती सम्पन्न खेलमा नेदरल्याण्ड्स, युक्रेन र बेल्जियम विजयी भएका छन् । जितसँगै नेदरल्यान्ड्स युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘सी’ मा लगातार दोस्रो जित निकालेसँगै नेदरल्यान्ड्स अन्तिम १६ मा पुगेको हो।
नेदरल्यान्ड्सले शुक्रबार विहान सकिएको खेलमा अस्ट्रियालाई २-० गोलले पराजित गर्यो। यसअघि उसले पहिलो खेलमा युक्रेनलाई ३-२ गोलले पराजित गरेको थियो। सन् २०१८ को विश्वकप र सन् २०१६ को युरो कपमा छनोट हुन नसकेको नेदरल्यान्ड्स सन् २००८ पछि पहिलो पटक युरो कपको नकआउट चरणमा पुगेको हो।
समूह ‘सी’ मा नेदरल्यान्ड्सले लगातार २ जितसहित ६ अंक जोडेको छ। एक खेलमा जित र एक खेलमा हार बेहोरेका युक्रेन र अस्ट्रियाको ३-३ अंक छ। नर्थ म्यासेडोनियाले अंक जोड्न सकेको छैन।
यता, एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै बेल्जियमले आयोजक डेनमार्कलाई २–१ ले स्तब्ध पारेको छ । डेनमार्कका लागि युसुफ पोल्सेनले खेलको दोस्रो मिनेटमै गोल गर्दै घरेलु समर्थकहलाई निकै उत्साहित बनाए । पहिलो हाफमा उसले १–० कै अग्रता बतायो त्यसपछि रोबर्टो मार्टिनेजले केभिड डि ब्रुयानेलाई मैदान पठाए । र, बेल्जियमको आक्रमण तेज भयो । उनले पहिलो गोलका लागि थोर्गान हाजार्डलाई पास दिए । त्यसपछि उनले आफैं बेल्जियमका लागि निर्णायक गोल गरे ।
बेल्जियमले समूह चरणमा दुई खेलबाट ६ अंक बटुलेको छ । यता, डेनमार्क भने समूहमा अंकविहिन छ ।
यस्तै, युक्रेनले युरो २०२० मा पहिलो जित हात पारेको छ। बिहीबार साँझ रोमानियाको बुचारेस्टमा भएको खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २-१ गोलले पराजित गरेको हो।
समूह ‘सी’ मा यसअघि युक्रेन पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३-२ गोलले पराजित भएको थियो। म्यासेडोनियाको भने यो दोस्रो हार हो। म्यासेडोनियालाई पहिलो खेलमा अस्ट्रियाले ३-१ गोलले पराजित गरेको थियो।
बिहीबार जित हात पारेसँगै युक्रेनले युरो कपमा लगातार ६ खेलमा पराजयको खराब यात्रालाई अन्त्य गरेको छ। युक्रेनका लागि खेलको २९ मिनेटमा एन्ड्री यरमोलेन्कोले गोल गर्दै अग्रता दिलाए ।
अब समूह ‘सी’ को अन्तिम चरणको खेलमा युक्रेन र अस्ट्रिया तथा म्यासेडोनिया र नेदरल्यान्ड्सबीच खेल हुनेछ।
प्रकाशित मिति २०७८ असार ४ गते शुक्रबार १०:३६




