पोखरा ।
नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत आज झापा एफसी र काठमाडौं रेजर्सबीच प्रतिश्पर्धा हुँदैछ ।
यी दुई टिमबीचको खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।
झापा लोकेन लिम्बुको कप्तानीमा मैदान उत्रँदैछ भने काठमाडौंको कप्तानी कुलदिप कार्कीले गर्नेछन् । झापा एफसी र काठमाडौं रेजर्सले एनएसएल २०२५ मा आफ्नो पहिलो खेलमाबराबरी खेलेका थिए ।
तेस्रो सिजनको उद्घाटन खेलमै काठमाडौंले दुई गोलले पछि परेको स्थितीमा पुनरागमन गर्दै साविक विजेता ललितपुर सिटीसँग २–२ को बराबरी खेलेको थियो ।
झापाले भने एक खेलाडी कम भएको बुटवल लुबिनीसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको थियो । झापाले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेपनि दोस्रो हाफमा त्यो प्रदर्शन कायम राख्न नसक्दा गोलरहित बराबरीमा रोकियो ।
यस पटक लिग चरणमा ६ खेल मात्र हुनेछ र पहिलो खेलमै बराबरीमा रोकिएपछि दुवै टोली आफ्नो पहिलो जित निकाल्ने लक्ष्यमा छ ।
यी दुई टोलीबीच अहिलेसम्म एनएसएलमा जम्मा एक खेल भएको छ । दोस्रो संस्करणमा झापा र काठमाडौले गोलरहित बराबरी खेलेका थिए ।
यसअघि हिजो भएको खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो जित हात पारेको छ ।
पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले पहिलो जित निकालेको हो । विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शन सहयोगमा जित हात पारे पछि दुई खेलबाट ४ अंक जोडेर ललितपुर अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।
पोखराको यो लगातार दोस्रो हार हो ।
प्रकाशित मिति २०८१ चैत २० गते बिहीबार ०९:१८




