काठमाडौं ।
वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले एनडिसी (राष्ट्रिय निर्धारित योगदान)मा सरकारले लिएका लक्ष्यहरु दातृ निकायबाट प्रभावित हुने गरेको आरोप लगाएका छन् ।
एनडिसी तेश्रोको नेतृत्व लिएको महाशाखा सम्हालेका ढकाल स्वयंले दातृ निकायको प्रभावमा सरकारले लक्ष्यहरुलाई बढी महत्वाकांक्षी बनाउने गरेको गुनासो गरेका हुन् । पछिल्लो समय गैरसरकारी संस्था र दातृ निकायहरुको चासो एनडिसीमा धेरै देखिएको उनले उल्लेख गरे ।
प्रकृति रिसोर्सेज सेन्टरले काठमाण्डौमा गरेको यातायात डिकार्बोनाइजेसन सम्बन्धी छलफलमा वन तथा वातावरण मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले मुलुकको वास्तविक धरातलमा रहेर जलवायु परिवर्तनको बहस गर्नुपर्ने बताए । उनले जलवायु लचिलो यातायात प्रणाली सुनिश्चित गर्न यातायात डिकार्बोनाईजेसनको लागि दातृ निकायबाट प्रभावित नभई आफ्नो क्षमता र छिमेकी मुलुकको रणनीतिलाई आधार बनाउनुपर्ने तर्क गरे । उनले धेरै कार्बन उत्र्सन गर्ने पहिलो र तेश्रो मुलुकहरु हाम्रा छिमेकी भएकाले उनीहरुले लिने लक्ष्यलाई नै नेपालले आधार बनाउनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति २०८१ चैत २० गते बिहीबार १०:४४




